मध्यरातमा दर्ता भयो संविधान संशोधन विधेयक
सत्तारुढ दल र मधेसी मोर्चाले मध्यरातमा संविधान संशोधनको दोस्रो विधेयक दर्ता गराएका छन । संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए ।
मोर्चा र सरकारवादी दलले छलफलपछी राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका छन् । सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ ।
संसदमा दर्ता भएको विधेयकमा सम्बन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । तर, मधेसी मोर्चाले यसलाई अस्वीकार गरेपछि सरकार उसकै माग अनुसार सम्वन्धित प्रदेशको सहमतिको सट्टा परामर्श शब्द राख्न सहमत भएको छ ।
यस्तै संघीय आयोग गठन सम्वन्धी धारा पनि संशोधन प्रस्तावमा परेको छ । सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट परेको संशोधनले आयोगको समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने सुनिश्चित गरेको छ ।
संशोधनमा माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्