सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आजदेखी देशका ३४ जिल्लामा लाग्यो स्थानीय चुनाव

आजदेखि पहिलो चरणको स्थानीय निर्वाचन औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् ।

पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।

पहिलो चरणको चुनाव कुन–कुन जिल्लामा हुँदैछ ?
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाहरुमा हुँदैछ । प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।

पहिलो चरणको निर्वाचन तालिका यस्तो छ,
उम्मेदवार मनोनयन दर्ता–बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म)

उम्मेदवारको सूची प्रकाशन–बैशाख १९ गते (बेलुका ५ः३० बजे)

उम्मेदवारको विरोधमा उजुरी–बैशाख २० गते (विहान १० बजेदेखि १ बजेसम्म)

मनोनयनपत्र जाँच–बैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म)

उम्मेदवारको नामावली प्रकाशन–बैशाख २१ गते (११ः३० देखि १ बजेसम्म)

उम्मेदवारले नाम फिर्ता लिने–बैशाख २१ गते (दिउँसो १ बजेदेखि ५ बजेसम्म)

उम्मेदवारको अन्तिम नामावली प्रकाशन–बैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान–बैशाख २२ गते (बिहान ११ देखि ५ बजेसम्म)

मतदान गर्ने–बैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म)

फेसबुकबाट कमेन्ट गर्नुहोस्