सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नालामा बगेकी बालिकाको भिडियो भयो भाईरल

शुक्रबार काठमाडौंमा भएको एउटा भयानक घटनाको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ । स्कुलबाट फर्किँदै गरेकी एक बालिका ह्युम पाइपभित्र परेर नालामा परेर बगिरहेको भिडियोले यतिबेला समाजिक सञ्जालमा राजधानी शहरको विकासका कामको दूरावस्थालाई गिज्याइरहेको छ ।

काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको विकासका लागि भन्दै सयौं नीति तथा कार्यक्रम सार्वजनिक गरेकै दिन समाखुसी चोकमा भएको यो घटनाले भने राजधानी कसरी असुरक्षित बन्दैछ भन्ने प्रस्ट देखाउँछ ।

शनिबार सामुखुसी क्षेत्रमा भीषण बर्षा भएको थियो । बर्षा नथामिँदै सँधैजस्तो सामुखसी जलमग्न भइसकेको थियो । बर्षा रोकिएको केही समयमा पानीको आहालबीचबाट मानिसहरु आहोरदोहोर गर्दै थिए ।

त्यक्रममा एक बालिका बाटो पार गर्दैगर्दा सीधै ह्युम नालाभित्र पस्छिन् र गायब हुन्छिन् । बालिकालाई बचाउन एक ब्यक्ति दौडँदै आइपुगे । तर, बालिका पाइपभित्र पसिसकेकाले उनको केही लाग्ने अवस्था थिएन ।

ह्युमपाइप भित्रै हराइएकी बालिका संयोगले बाहिर नालामा बग्दै गरेको देखिन्छिन् । त्यहाँ उपस्थित एक स्थानीयले उनको उद्धार गर्छन् । सुशीला मगरले समाखुसीमा जमेको पानीको भिडियो खिच्दै गर्दा संयोगबस सोही समयमा घटना भएकोले यो दृश्य क्यामेरामा कैद भएको हो । जसलाई श्रवणकुमार आलेले फेसबुकमा पोष्ट गरेका छन् ।

सामाखुसी ट्राफिक प्रहरी प्रभागका ईञ्चार्ज दुर्गादत्त भट्ट पानी पर्नासाथ सामाखुसीका सडक जलमग्न हुने गरेको बताउँछन् । शुक्रबारको घटनामा बालिका संयोगले मात्रै ह्युमपाइपबाट बाहिर आएको उनले बताए ।

‘नाला जाम नभएको भए बालिकालाई बाहिर भेटाउन मुकिस्ल हुन्थ्यो । सामाखुसीमा पानी परेपछि पानी भरिएर सडक र नाला उस्तै देखिन्छन’ भट्टले भने,’ काठमाडौं महानगरपालिकाले अब पनि ध्यान दिएन भने घटना दोहोरिन पनि सक्छ ।’

उनले घटनामा परेकी बालिका ८ कक्षामा पढ्ने गरेको थाहा भएको बताए । तर, आफन्त आएर लिएर गइहालेकाले उनीबारे थप विवरण बुझ्न नपाइएको बताएका छन ।

‘उद्धार भएलगत्तै उनले आफू ठिक रहेको बताएकी थिइन् । हाम्रो हवल्दार साव घटनास्थलमै हुनुहुन्थ्यो’ ईञ्चार्ज भट्टले भने, ‘सामखुसीको सडक धराप जस्तै भएको छ । बेलैमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ अनलाईनबाट साभार गरिएको

फेसबुकबाट कमेन्ट गर्नुहोस्