राप्रपा फुट्यो, पसुपति समशेरले बनाए नयाँ पार्टी
कमल थापा नेतृत्वको संसद्को चौथो ठूलो दल भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः विभाजित भएको छ । वरिष्ठ नेता पशुपति समशेर राणाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निम्ति निवेदन दिएको नेता सुनिल थापाले जानकारी दिएका छन ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि गत वर्ष भएको महाधिवेशनले कमल थापालाई अध्यक्ष निर्वाचित गरेको थियो । एकीकरणपछि ३७ सांसदका साथ राप्रपा संसद्को चौथो ठूलो दल बन्न पुगेको थियो ।
राप्रपालाई वैकल्पिक शक्ति बनाउन अध्यक्षले नसक्ने अवस्था देखिएपछि नयाँ पार्टी खोल्नुपरेको नेता सुनिल थापाले टिप्पणी गरेका छन । उनले भने, “लोकतान्त्रिक शक्ति बन्ने अभियानलाई एकता महाधिवेशनपछि राप्रपाले अगाडि बढाउन सक्ने ठानेका थियौँ । तर त्यो गन्तव्यमा पुग्न नसक्ने देखेपछि अलग हुने निर्णयमा पुगेका हौँ ।”
सुनिल थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । अध्यक्ष कमल थापाले ट्वीट गर्दै भनेका छन–“एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण, अधिकांश हस्ताक्षर नक्कली, विचलित नहुन कार्यकर्तालाई आह्वान ।”
अर्का नेता जयन्त चन्दले आश्चर्य व्यक्त गरेका छन् । उनले भने–“एक किसिमले सहमतिको वातावरण बनिरहेको बेला यो अचानक आयो । किन यस्तो भयो मैले आफैले बुझ्न सकेको छैन ।” उनी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।
गत वर्ष भएको महाधिवेशनले कमल थापालाई अध्यक्षमा निर्वाचित गरेको थियो । त्यसयता देखिएको आन्तरीक कलहका माझ उक्त दल विभाजित बनेको छ ।
फुटपछि कसको पक्षमा कति सांसद छन् भन्ने प्रस्ट भइसकेको छैन । दुवै पक्षले आ–आफ्नो पक्षमा धेरै सांसद रहेको दावी गरेका छन । पूर्वपञ्चहरुको बाहुल्य रहेको राप्रपाको एकता महाधिवेशनपछि अर्का नेता प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी गठन गरिसकेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्