सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राति ९ बजे कास्कीको रिभानमा पहिरोले घर पुर्यो

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ५ रिभान पाथेगाउँमा आएको पहिरोले ११ घरपरिवार बिस्थापित भएका छन् । गएराति करिब ९ बजेतिर गाउँमाथिबाट ढिस्को खसेर गएको पहिराले ११ ओटा घरमा क्षति पुर्याएको हो ।

पहिरोले धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने, देवीलाल लामिछाने, दिनानाथ पौडेल, नरबहादुर विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा र प्रेमबहादुर विश्वकर्मा लगायतको परिवारलाई विस्थापित बनाएको छ ।

उनिहरुले राति भागेर ज्यान जोगाएका थिए । भागेर उनिहरुले राति छिमेकी गाउँमा रात बिताएका थिए । विस्थापित प्रेमबहादुर विश्वकर्माका अनुसार प्रायजसो सबै घर पहिरोले बस्नै नहुनेगरी भत्काएको छ ।

पहिरोले मानबिय क्षति हुन नपाएपनि गाईवस्तु, माछापोखरी र पोल्ट्री फार्म भने पुरिदिएको छ । त्यस्तै स्थानीय सरस्वती मन्दिर र एक्यापको नर्सरी पनि पहिरोले पुरिदिएको छ ।

अहिलेपनि पानी परिरहेकाले रिभानबासी बिस्थापितहरु संकटमा परेका छन् । घटनाबारे प्रहरीलाई खबर गरेपनि नजिकको रिभानको खहरेखोला बढेर तर्न नसकेकाले प्रहरी, उद्धारकर्ता पुग्न नसकेको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्