अर्बौँ करछलिका आरोपि शर्मालाई थुनामुक्तको आदेश
सर्वोच्च अदालतले अरबौं कर छली गरेको आरोपमा पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न अन्तरिम आदेश दिएको छ ।
शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।
शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ । कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।
आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यही साउन ४ गते सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो । सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारको हिरासतबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्