गुमनाम तरकारीवाली एकाएक चलचित्र ‘लम्फु’मा
एक बर्ष अगाडि सामाजिक संजालमा तरकारीवाली भनेर चितवनकी कुसुम श्रेष्ठको खुबै चर्चा भयो । अहिले, उनी आफ्नै काममा मस्त छिन् । उनको चर्चा मिडियामा छैन भन्दा पनि हुन्छ ।
यसरी गुमनाम बसेकी तरकारीवाली कुसुमलाई निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र ‘लम्फू’मा अभिनय गराएको खुलासा भएको छ । चलचित्र लम्फुबाट प्राप्त भएको पारिश्रमिक तरकारीवाली कुसुमले अनाथ बालबालिकाका लागि खर्च समेत गरेकी छिन् ।
उनले भनिन–‘अहिले नै म मेरो भूमिकाको बारेमा केही पनि खुलाउन चाहन्नँ । तपाइहरुले हलमा गएपछि मेरो भूमिका प्रष्टसँग थाहा पाउनुहुनेछ ।’ यो चलचित्रको छायांकन सकिएपनि कुसुमको अभिनय रहेको कुरालाई भने निर्माण पक्षले गोप्य नै राखेको थियो ।
उनले भनिन–‘म जुन समाजमा हुर्के, बढेँ । यहि समाजले नै मलाई आज ‘तरकारीवाली’ भनेर चिनायो । मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर चलचित्रबाट आएको पारीश्रमिक असहाय बालबालिकाका लागि खर्च गरेको हुँ ।’
उनले, आगामी दिनमा पनि समाजसेवामा नै आफूले काम गर्ने बताएकी छिन् । कुसुमका अंकल गोपिलालले ‘तरकारीवाली’को रुपमा भाइरल भएसँगै कुसुमलाई थुप्रै अफर आएको उतिबेलै बताएका थिए ।
तर, चलचित्र ‘लम्फू’को टिमको सामाजिक उतरदायित्वको सोच र उनलाई मास्टर डीग्रीसम्म निःशुल्क पढाइदिने भनेपछि कुसुमले काम गरेको गोपिलालको भनाई छ ।
पपुलर मल्टिमिडियाका लागि शक्तिवल्लभ घोरासैनीले निर्माण गरेको यो चलचित्रमा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, संजित भण्डारीको मुख्य भूमिका छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्