सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बोल्न नजान्दा विवादको शिखरमा सुन्दरी नीति शाह

बोल्न पायो भनेर प्याच्च नबोल्नु र बस्न पायो भनेर थ्याच्च नबस्नु भन्ने उखान हाम्रो समाजमा निकै चल्तीमा छ । बोल्दा विचार नपुर्याए भोग्नु पर्ने परिणाम बारे सबै जानकार छन् । विशेष गरी लोकप्रिय व्यक्तिहरुले ध्यान नपुर्याई अभिव्यक्ति दिँदा नेपालको अन्र्तराष्ट्रिय मञ्चमा बेईज्जत हुने गरेको छ ।

अन्र्तराष्ट्रिय मञ्चमा उपयुक्त अभिव्यक्ति दिन नसक्दा नेपाल र नेपालीको अस्तित्वमा आँच आउने गरेको छ । पछिल्लो समय यस्तै भयो नीति शाहको हकमा पनि । मिस नेपाल २०१७ को प्रतियोगिताको सेकेण्ड रनरअप नीति शाहले आफ्नो बोलीमा बिचार पुर्याउन नजान्दा विवादमा तानिएकी हुन् ।

जापानमा भएको मिस इन्टरनेशनलको एक कार्यक्रममा सहभागिता जनाउने क्रममा नीतिले महिला शिक्षाको सम्बन्धमा आफ्नो भनाई राख्ने क्रममा नेपालका ग्रामीण महिलाहरुको बारेमा दिएको नकारात्मक अभिव्यक्तिका कारण उनी अहिले चौतर्फी आलोचनाको शिकार हुनुपरेको छ । नीतिले आफनो अभिव्यक्तिमा नेपालमा दुई समूहका महिला छन् भनेर बिभाजन गरेकी थिइन् ।

सुन्दरी नीतिले नेपालमा ग्रामीण र शहरीया महिला भन्दै बिभाजन गरेको विचारले उनी यतिखेर आलोचनाको पहाडमा उक्लिएकी छिन् । सहरमा बस्ने महिलाहरू शिक्षित रहेको, सफा रहेको र ग्रामीण महिलाहरू अशिक्षित र सरसफाइमा ध्यान नदिने उनको दृष्टिकोण थियो ।

त्यतिमात्र नभएर नीतिले ग्रामीण महिलाहरु विभिन्न देशमा बेचिएकाले यौनकर्मीको पेशा अंगाल्न बाध्य भएको अभिव्यक्ति दिएकी छन् । उनको यस्तो अभिव्यक्तिले समग्र ग्रामीण नेपाली महिलाहरुको अस्तीत्वमा आघात पुगेको छ । उनको यस्तो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालहरुमा धेरैले आक्रोश व्यक्त भइरहेको छ ।

उनले यसो भन्नुको कारण, उनको कमजोर अग्रेंजीले गर्दा हो भनेर अहिले सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी गर्न थालिएको छ । यससंगै कतिले त कमजोर तयारीको साथै सामान्य ज्ञानको कमीले यस्तो बोलेको भनेर लेखेका पनि छन् ।

हुनत नीतिले यस्तो अभिव्यक्ति किन र कुन आधारमा दिईन् त्यो उनैलाई थाहा होला । तर अन्र्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेर गएकी उनले यो विषयमा पूर्व तयारीको अभ्यासको कमी भएको प्रष्ट देखिन्छ । जसले नेपाल र नेपालीको गरिमामा ठेस पुग्न गएको छ ।

सौन्दर्य र बौद्धिकतालाई आधार मानेर गरिने सुन्दरी प्रतियोगितामा उपयुक्त व्यक्ति र पात्र छनौट हुन नसक्दाको परिणम स्वरुप निति शाह अहिले आलोचनाको पात्र बन्न पुगेकी छिन् । नीति शाह उनै सुन्दरी हुन, जसलाई सामाजिक सञ्जालमा मिस नेपालको प्रमुख दावेदारको रुपमा चर्चा गरिएको थियो ।

स्वयं नीति शाहले भने मिडिया र सामाजिक सञ्जालमा भएको आलोचनालाई खण्डन गर्दै आफ्नो बोलीको गलत ब्याख्या गरेको प्रतिक्रिया दिएकी छिन । उनले आफुले सामाजिक सञ्जालमा भनेजसरी नबोलेको र आफुले त्यो मनसाय नराखेको समेत बताएकी छिन । उनले आफ्नो भनाईलाई गलत व्याख्या नगरीदिन र त्यसरी नबुझिदिन समेत अपिल गरेकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS