सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओली सरकारले रसुवागढीमा अन्तराष्ट्रिय नाका बनाउने

भर्खरै सम्पन्न निर्वाचनबाट पहिलो पार्टी बनेपछी सम्भवत; भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारले चीनसँगको रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताएका छन् ।

चुनावी ह्याङ्गओभरबाट रिफ्रेसमेन्ट हुन भन्दै काठमाण्डौबाट लाङटाङतर्फ गएका ओलीले रसुवागढी नाकाको स्थलगत निरीक्षणपछि सो नाकालाई व्यवस्थित बनाउन अब आउने सरकारले ध्यान दिने बताएका छन । काठमाडौंबाट रसुवागढीसम्म हालको दुई लेन सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण प्रक्रिया प्रारम्भ गरीने बताएका छन ।

मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बिषयमा ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुगेका ओली हेलिकोप्टरबाटै रसुवागढी निरीक्षणमा गएका हुन् । ओलीले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासन स्थानीयलाई दिएर फर्किएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्