यस्सो एक किस गरौं भनेर आएको बुझेका छौंः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग निकट भविश्यमै पार्टी एकता हुने बताएका छन् । ओलीले एमाले र माओवादी नेताहरुलाई भड्काउने प्रयास भइरहेको तर, त्यसलाई आफूहरुले बुझेको स्पश्ट पारेका छन ।
कसैले हात समातेर लगेर पार्टी एकताको गुरु मन्त्र दिएको नभई आफूहरुले सुरु गरेको भन्दै उनले पार्टी एकता हुनेमा ढुक्क रहन आग्रह गरेका छन ।
‘अहिले पनि केहीकेही गैँडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दैछन् । गैँडाले चाट्यो भने के हुन्छ साथीहरुलाई थाहै छ । गैँडाले जहाँ चाट्छ, त्यहाँ छालामात्र होइन मासु समेत जान्छ । बडो प्रेम पूर्वक यस्सो एक किस गरौं है भनेर जिब्रो निकालेर आएका छन् । तर, हामीले यो बुझेका छौं ।’
एमाले नेताहरुलाई माओवादी आएपछि बर्बाद हुन्छ भनेको तथा माओवादी नेताहरुलाई एमालेले निल्छ भनेर भड्काउने प्रयास भएको उनले सुनाएका छन । ओलीले भने, नयाँ ढंगले पार्टी बन्छ ।
एमाले पनि होइन, माओवादी पनि होइन ।’ सरकार बनाउँदै पार्टी एकता गर्दै अघि बढ्ने भन्दै भने, ढुक्क हुनुस, निकट भविश्यमा पार्टी एकता गर्दैछौं ।’
अहिले वाम गठबन्धनप्रति जनता र दुबै पार्टीका कार्यकर्तामा आत्मविश्वास पलाएको भन्दै उनले त्यसमा असफल भए धेरै दशकसम्म अर्को सम्भावना नआउने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्