सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री नहुँदै केपी ओलीलाई मोदीको निम्तो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका छन् । बिहीबार अपरान्ह अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गर्दै हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्तसमेत गरेको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उनलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएका थिए ।

ओलीले मोदीलाई बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने अध्यक्ष ओलीले बताएका थिए ।

ओलीले खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गरेका छन ।

सरकार गठन लगत्तै भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र पठाइने ओलीले बताउका छन । अध्यक्ष ओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि पनि मोदीलाई वधाइ दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्