मुख्यमन्त्रीको सपथ लिएपछी बिहे पनि गर्छु; शेरधन
एमालेका युवा नेता तथा भर्खरै सम्पन्न निर्वाचनबाट भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित शेरधन राईले मुख्यमन्त्रीको सपथ खाएपछी बिहे गर्ने भएका छन । प्रदेश नम्बर १ का सम्भावित मुख्यमन्त्री अविवाहित शेरधन राईले शुक्रबार यो घोषणा गरेका हुन ।
बिराटनगरमा भएको पत्रकारसँगको भेटघाट कार्यक्रममा पत्रकारले राखेको जिज्ञासामा राईले मुख्यमन्त्रीको शपथ खाएपछि घरजम गर्नेतर्फ लाग्ने घोषणा गरेका हुन । राईले ठट्यौली पाराले भने–‘मेरो घरजम नभएको बिषयमा धेरैको चासो छ, त्यो मुख्य मन्त्रीको सपथ खाएपछि पुरा गर्नेछु ।’
पार्टी पोलिटव्यूरो सदस्य रहेका नेता शेरधन राईले आफूबाहेक प्रदेश नं १ मा मुख्यमन्त्रीको दावेदार अरु नभएको दाबी गरेका छन । उनले भनेका छन–‘प्रदेश सरकारको मुख्य मान्छे बन्ने योजनाअनुसार नै पाइला चालेको हो, मैले त्यसका लागि पार्टीको पूर्ण सहयोग पाएको छु ।’
विगतमा पार्टीबाट पाएको सांगठनिक र राजकीय जिम्मेवारीहरु निर्विबाद, स्वच्छ र सफलतापूर्वक सम्पन्न गरेकाले मुख्यमन्त्रीको जिम्मेबारी आफूले पाउने नेता शेरधन राईको विश्वास रहेको छ ।
आफ्नो दाबीको औचित्यबारे प्रस्ट्याउँदै नेता राईले भने–‘दुई कार्यकाल प्रतिनिधि सभाको सदस्य, संसदीय समितिको सभापति र मन्त्री समेतको जिम्मेवारी पाउँदा प्रश्न उठ्ने कमजोरी मैले कहिल्यै गरिन, मुख्यमन्त्री हुने मेरो बलियो आधार यही हो ।’
प्रदेश नं १ मा सरकार बनाउनका लागी एमाले एक्लैको बहुमत काफी भए पनि बामगठबन्धनकै सरकार बन्ने नेता राईले बताएका छन । प्रदेश राजधानी बनाउने बिषयमा भने उनले भावनामा बहकिएर आफ्नो ठाउँ विशेषको कुरा गर्ने भन्दा पनि सबै कुराको सार्मथ्य भएको स्थानलाई राजधानी बताउन उपयुक्त हुने बताएका छन ।
उनले अन्तरिम राजधानी बर्तमान सरकारले तोक्ने र स्थायी राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गर्ने भएकोले पूर्वाधारको अवस्था तथा चौध जिल्लाकै जनताको पायक पर्ने स्थानलाई हेरेर परिपक्व ढङ्गले निर्णय गरिने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्