सामुहिक वलत्कारका आरोपीलाई सर्वोच्चले झिकायो
सर्वोच्च अदालतले सामूहिक बलत्कारमा परेकी पूजा बोहराको रिटको सुनुवाइ गर्दै उक्त अभियोगका विपक्षीलाई झिकाउन आदेश दिएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंहको संयुक्त इजलासले सामूहिक बलात्कार प्रकरणका विपक्षीलाई झिकाउन आदेश दिएको हो ।
रिटमा विपक्षी बनाइएका बलत्कारका आरोपी बैतडी भूमेश्वरका सागर भट्ट र अमर अवस्थीलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । सर्वोच्चमा २०७१ पुस ९ गते दर्ता भएको उक्त रिटको बुधबार पहिलो पटक सुनुवाइ भएको हो । रिटको १४ पटकभन्दा बढी पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
पीडित पूजा २०६८ चैत्र ९ गते प्रवेशिका परीक्षाका लागि पुस्तक पसलमा गेसपेपर किन्न जाँदा बलत्कारको सिकार भएकी थिइन् । पुस्तक पसले बैतडीका सागर भट्ट र अमर अवस्थीले नसालु पदार्थ खुवाएर आफूलाई जबर्जस्ती गरेको पूजाले दिएको उजुरीमा उल्लेख छ ।
पूजाले दिएको रिटकोे सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला अदालतका न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियोग लागेका भट्ट र अवस्थीलाई दोषी ठहर गरेको थियो ।
उक्त इजलासले बलत्कारका आरोपी दुवैलाई मुलुकी ऐन, जबर्जस्ती करणी महलको ३ (४) बमोजिम आठ वर्ष कैद र सामूहिक करणी गरेको भन्दै थप पाँच वर्ष गरी जम्मा १३ वर्ष जेल सजाय र पीडितलाई ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
जिल्ला अदालतको उक्त फैसलापछि अभियोगी भट्ट र अवस्थीले पुनरावेदन गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दैे पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसादराज भण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते सागर भट्ट र अमर अवस्थीलाई सफाइ दिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्