सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नागोयामा नयाँ बर्ष धमाका, रमाईलोसँगै समाजसेवा

अंग्रेजी नयाँ बर्ष २०१८ को अवसर पारेर जापानको नागोयामा न्यु एयर सांगितीक साँझ हुने भएको छ । परदेशी क्रस कल्चर एशोसिएसनले आउँदो जनवरी २ तारिखका दिन सांगितीक साँझको आयोजना गरेको हो ।

सांगितिक साँझ कार्यक्रममा चर्चित लोकदोहोरी गायीका कृष्णा गुरुङ्ग, लोकदोहोरी गायक जिवन दाहालको बेजोड प्रस्तुति रहनेछ । गण्डक क्षेत्रमा स्टेज दोहोरीमा नाम कमाएका गायक जिवन दाहालले ‘धनसम्पती चाहिँदैन’ लगायतका दर्जनौँ गितहरु बजारमा ल्याएका छन । चर्चित गित ‘जाम त भने बनको बाटो’ पनि उनकै सिर्जना हो ।

लोकदोहोरी गायीका कृष्णा गुरुङ्ग र लोकदोहोरी गायक जिवन दाहाल ।

लोकदोहोरी गायीका कृष्णा गुरुङ्गको नाम लोकदोहोरी क्षेत्रमा आफैमा पुर्ण छ । लामो समय देखी आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका गुरुङ्ग दर्शक, श्रोताले रुचाईएकी गायीका हुन । ‘दामी देखिन्छ, निधारैमा लेखेसी, तिमि र म मिले प्यार हुन्छ, एकादशि बजारै’मा उनका पछिल्लो समयका चर्चित गितहरु हुन ।

त्यस्तै जापानमै रहेर नेपाली गित संगितमा आफ्नो पहिचान बनाईरहेका लोकदोहोरी गायक श्याम शितल र मनोज केसीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनेछन । डान्सर रेश्मी खाँण ठकुरीको प्रस्तुति पनि कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बन्नेछ ।

क्रमश; लोकदोहोरी गायक श्याम शितल, डान्सर रेश्मी खाँण ठकुरी र लोकदोहोरी गायक मनोज केसी ।

सांगितिक साँझ कार्यक्रम नागोयाको निसिकीमा रहेको आपा होटेलमा दिउँसो १ बजेबाट सुरु हुँदैछ । नागोयामा रहेका अन्य स्थानीय कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । सांगितीक साँझ कार्यक्रमलाई जापानको आइचि ओकाजाकीमा रहेको भावना इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ ।

कार्यक्रमलाई डिलाराम खरेल, गोबिन्द श्रेष्ठ, गायकद्वय मनोज केसी र श्याम शितलको पनि बिशेष सहयोग रहेको छ । आयोजक परदेशी क्रस कल्चर एशोसिएसन नागोया जापानका अध्यक्ष मनोजबम मल्लले मनोरञ्जनसँगै सामाजिक सेवाको कार्यमा सहयोग गर्न नागोयाबासी सबै नेपालीलाई आग्रह गरेका छन ।

यो सांगितिक साँझ काठमाण्डौमा रहेको धुम्बाराही बृद्धाश्रमको सहयोगार्थ आयोजना गरिएको परदेशी क्रस कल्चर एशोसिएसनका संस्थापक सुरज मल्लले बताएका छन । परदेशी क्रस कल्चरले यसअघि पनि बिभिन्न सिर्जनात्मक र सामाजिक कामहरु गर्दै आईरहेको छ ।

परदेशी क्रस कल्चर एशोसिएसन नागोयाका अध्यक्ष मनोजबम मल्ल ।

यसअघि एशोसिएसनले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । भलिवल प्रतियोगिताबाट भएको आम्दानी करिब १ लाख ५० हजार जापानिज येन धुम्बाराही बृद्धाश्रमलाई नै प्रदान गरिएको परदेशी क्रस कल्चर एशोसिएसन नागोया जापानका अध्यक्ष मनोजबम मल्लले बताएका छन ।

न्यु एयर बिदामा मनोरञ्जन पनि होस र असहाय बृद्धबृद्धालाई सानोतिनो सहयोग पनि होस भन्ने उद्देष्यले यो सांगितिक साँझ कार्यक्रमको आयोजना गरिएको परदेशि क्रस कल्चर एशोसिएसनका संस्थापक सुरज मल्लले बताएका छन ।

परदेशी क्रस कल्चर एशोसिएसनका संस्थापक सुरज मल्ल ठकुरी ।

एशोसिएसनका संस्थापक मल्ल स्वयं आफै पनि सामाजिक व्यक्तित्व हुन । दर्शन समाज जापानका संस्थापक समेत रहेका मल्ल जापानका बिभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छन । मल्लले नागोयाबासी सबै नेपालीलाई सांगितीक साँझमा सहभागी भई भरपुर मनोरञ्जन लिन र सामाजिक कार्यमा सहयोग गर्न अपिल गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्