सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अध्ययन भन्छ; किशोरावस्थाको उमेर २४ बर्षसम्म

वैज्ञानिकहरूले किशोरावस्थाको अवधि बढ्दै गएको र अब त्यो १० देखि २४ वर्षसम्म रहन थालेको बताएका छन् ।उनीहरूले सरकारका नीति र कानूनलाई समयानूकुल बनाउन किशोरावस्थाको परिभाषामा परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन ।

अनुसन्धानकर्ताहरूले पोषणमा आएको सुधारका कारण किशोरावस्था शुरू हुने उमेर अझ कम भएको निष्कर्ष निकालेका छन् । २० वर्षको उमेरपछि पनि मस्तिष्कको विकासक्रम जारी रहेकाले किशोरावस्थाको अधिकतम उमेर सीमा पनि बदलिनुपर्ने उनीहरूको भनाइ छ ।

किशोरावस्था कहिले शुरू हुन्छ ? 

हाइपोथालामस भनिने मस्तिष्कको एउटा हिस्साले मानिसको पियुस र यौन ग्रन्थीहरूलाई क्रियाशील बनाउन हर्मोनहरू उत्पादन गर्न थालेपछि किशोरावस्था शुरु हुने विश्वास गरिन्छ ।

यो पहिला १४ वर्षको उमेर आसपास शुरु हुने गर्थ्यो । तर स्वास्थ्य र अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण अब त्यो विकासक्रम १० वर्षको उमेरमा नै शुरु हुन थालेको वैज्ञानिकहरू बताउँछन ।

परिणाम स्वरुप ब्रिटेन जस्ता औद्योगिक राष्ट्रहरूमा किशोरीहरूको पहिलो महिनावारी हुने औसत उमेर विगत डेढ सय वर्षमा चार वर्षले घटेको छ । अहिले कूल बालिकाको आधा संख्याको पहिलो महिनावारी १२ वा १३ वर्षको उमेरमा शुरु भइसक्छ ।

शरीरको विकासक्रम कुन उमेरबाट रोकिन्छ ?

किशोरावस्थाको उमेरको सीमा किन बढाइनुपर्छ भन्नेमा पनि वैज्ञानिकहरूले तर्क दिएका छन् । उनीहरूले शरीरको विकासक्रमलाई ध्यान दिएर त्यसो गर्नु आवश्यक रहेको बताएका छन् ।

उदाहारणका लागि, मस्तिष्क २० वर्षको उमेरभन्दा बढी समयपछि पनि विकास भइरहन्छ र त्यसबेला पनि द्रुत र अझ प्रभावकारी रुपमा काम गरिरहन्छ । कतिपय व्यक्तिका बुद्धिबङ्गारो २५ वर्षसम्म पनि नआउने वैज्ञानिकहरू बताउँछन् ।

युवा उमेरका मानिसहरूले लामो समयसम्म शिक्षालाई निरन्तरता दिएको, बिहे ढिला गर्न र सन्तान अलिपछि जन्माउन थालेको लगायतले विगतमा किशोरावस्था भनेर भनिने गरिएको उमेरमा परिमार्जन ल्याएको बताइन्छ ।

‘ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखले पछिल्लो खुलासा गरेको हो । तर कतिपय विज्ञहरूले चाहिँ किशोरावस्थाको परिभाषा परिमार्जन गर्दा त्यसले कम उमेरका मानिसहरूलाई लामो समय बाल्य अवस्थामै राख्न सक्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्