सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओली र प्रचण्डबीच ३ घण्टा गोप्य वार्ता, बैठक भोली

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक भोलि बस्ने भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलमा समितिको बैठक भोलि बस्ने सहमति भएको हो ।

दुई अध्यक्षबीच आज ललितपुरमा सहयोगी विना नै करिब तीन घण्टा छलफल भएको थियो । जहाँ उनीहरु बीच पार्टी एकताको प्रक्रिया, सैद्धान्तिक विषय र सांगठनिक संरचनाबारे कुराकानी भएको हो ।

दुई नेताले नयाँ सरकार गठनको गृहकार्य तीब्र बनाउने र सरकार गठन अगाडि नै एकताको प्रारुप टुंग्याउने सहमति गरेको बताइन्छ । दुबै विषयमा एकता संयोजन समितिको भोलि बस्ने बैठकमा छलफल हुने छ ।

गठबन्धन बनाएर चुनाव लडेका दुई दलबीच संयुक्त सरकार बनाउने सैद्धान्तिक सहमति भएपनि पार्टीगत रुपमा ठोस छलफल भएको छैन । पार्टी एकता संयोजन समितिको अघिल्लो बैठकमा अध्यक्षद्वयले नेतृत्व तहमै गम्भीर छलफल गर्नुपर्ने भन्दै केही समय मागेका थिए ।

त्यसयता उनीहरु बीच कुराकानी भएको थिएन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैमा एमालेले दावी गर्दा एकता असम्भव हुँदै गएको माओवादी केन्द्रका नेताहरुले बताउन थालेका छन् ।

अध्यक्ष ओलीले मागदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ पनि नछोड्ने अडान लिएको भन्दै माओवादीका नेता एकताप्रति अनिच्छुक बन्दै गएको भनिएका बेला संयोजन समितिको बैठक भोलि बस्न लागेको हो ।

एमाले अध्यक्ष ओली महाधिवेशनपछि मात्रै दाहाललाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेको समाचार आएपनि बरिष्ठ नेता झलनाथ खनालसहितका केही नेता भने अध्यक्ष दिएर भएपनि पार्टी एकता गर्नुपर्ने पक्षमा लागेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्