सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

२० दिनमा प्लेन उडाउने चेपाङको तयारी, ईञ्जिन खोई ?

पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ हिजोआज मिनी एयर क्राफ्ट (सानो जहाज) बनाउनमा ब्यस्त छन् । उनको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ ।

दुई जना चढ्न मिल्ने एयर क्राफ्ट बनाउने उनको प्रयास छ । उनले बनाउँदै गरेको प्लेन हेर्न दिनमा २०० जना आउँछन् । आल्मुनियम, स्टिल, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामान प्रयोग गरेर सरोजले जहाज बनाएका छन् ।

जहाज निर्माणको काम ८० प्रतिशत सकिँदा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको छ । अब बाँकी २० प्रतिशत काम सिध्याउन पैसा खोज्दैछन् उनी । कतारमा गाडी चलाउने बाबु मनु चेपाङले पठाएको पैसाबाट उनले जहाज बनाउन आवश्यक सामान किन्ने गरेका छन् ।

६ महिनाअघि प्लेन निर्माणको काम सुरु गरे पनि आर्थिक अभावकै कारण उनको लक्ष्य पूरा हुन सकेको छैन । जहाजमा ६.५ हर्सपावरको तीन वटा इञ्जिन राखिएको छ । तर त्यसले नधान्ने भएकाले ठूलो इञ्जिनको आवश्यकता छ ।

‘निर्माण कार्य सकिँदा करिब डेढ क्वीन्टलको प्लेन बन्छ’, सरोजले भने, ‘अहिले भएको इञ्जिनले धान्ने अवस्था छैन, ठूलो इञ्जिन किन्न अहिले पैसा छैन ।’ ठूलो इञ्जिन किन्न सकिएमा अबको २० दिनभित्र प्लेन उडाएर देखाउने सरोजको दावी छ ।

ठूलो इञ्जिनका लागि करिब ७० हजार रुपैयाँ लाग्ने उनले बताए । सुरक्षित इञ्जिन भएमा प्लेन जहाँ पनि लैजान सकिने सरोजको भनाइ छ । ठूलो इञ्जिन नभए प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ ।

सामान्य परिवारमा जन्मिएका सरोजले पढ्ने रहर भए पनि आर्थिक समस्याकै कारण माध्यमिक तहको शिक्षा पूरा गर्न सकेनन् । उनलाई पनि पढ्न भनेपछि त्यति जाँगर चल्दैनथ्यो । बरु प्राविधिक काममा उनी रुची राख्थे ।

नोटः यो समाचार अनलाईनखबरबाट साभार गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS