सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश ३ मा डोरमणीको उदय, अष्टलक्ष्मीको अपमान

प्रदेश नं. ३ मा मुख्यमन्त्री को हुन्छ भन्ने बिषयमा एमालेभित्र बरिष्ठ र जनप्रीय नेताहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापीत लगायतको नाम चर्चामा आईरहेका बेला संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएपछी मुख्यमन्त्रीबाट सबै नेताहरु रिङआउट भएका छन ।

एमाले प्रदेश ३ को संसदीय दलको नेताका लागी भएको निर्वाचनबाट चर्चामा रहेका नेताहरु भन्दा निकै कनिष्ठ डोरमणि पौडेल निर्वाचित भएपछी मुख्यमन्त्रीमा चर्चामा रहेका नेताहरु रिङआउट भएका हुन । संसदीय दलको नेता चयन भएसँगै डोरमणी पौडेललाई प्रदेश ३ को मुख्यमन्त्रीको मार्ग प्रसस्त भएको छ ।

एमाले संसदीय दलको नेता चयनका लागी शुक्रबार भएको चुनावमा प्रदेश नं. ३ कि संयोजक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलले उम्मेदवारी दिएका थिए । चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका थिए भने अष्टलक्ष्मी शाक्यले २४ मत मात्र पाएकी थिईन ।

दलको नेतामा चयन भएपछि डोरमणी पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने प्रतिक्रिया दिएका छन । प्रदेश ३ को भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताएका छन ।

यता संसदीय दलको नेतामा पराजय भएपछी मुख्यमन्त्रिको रिङबाट समेत आउट भएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफु चरम गुटबन्दीको सिकार भएको र अध्यक्ष ओलीले आफुलाई छक्याएको भन्दै असन्तुष्टी जनाएकी छिन । शाक्यले अध्यक्षबाट भएको गुटबन्दीबाट आफु स्तब्ध भएको बताएकी छिन ।

उनले भनिन–‘हिँजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईंले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस् भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस् भन्नुभयो ।’

उपाध्यक्ष शाक्यले वास्तवमा आफु गुटबन्दीको यति सारो सिकार बनुँला र यस्तो होला भनेर सोच्दै नसोचेको बताएकी छिन । शाक्यले संसदीय दलमा भएको गुटबन्दीले आफुलाई निकै पिडाबोध र अपमानको महशुष भएको बताएकी छिन ।

पराजयको आक्रोस पोख्दै शाक्यले भनिन–‘उहाँले कसरी चलाउनुहुन्छ म पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ, प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ हेरौंला ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्