सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि ‘हीरा’ भैंसीलाई

शनिबार सुनसरीको इटहरीमा आयोजना गरिएको ‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि मीठुमाया कार्कीले पालेको उन्नत नश्लको ‘हीरा’ नामक भैंसीलाई प्रदान गरिएको छ ।

सुनसरीको इटहरीस्थित वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले हवाईचोकमा आयोजना गरेको प्रतियोगितामा इटहरी उपमहानगरपालिकाका ३८ जना भैंसीपालक किसानले सहभागिता जनाएका थिए ।

भैंसी अनुसन्धान केन्द्र समेत इटहरीमै रहेको र यस क्षेत्रका भैंसीपालक किसानलाई प्रोत्साहन गर्दै उन्नत नश्लको भैंसी पालनमा सहयोग र्पुयाउने उद्देश्यले ‘भैंसी सुन्दरी प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगितामा विजयी भैंसीलाई पाल्दै आएकी मीठुमाया कार्कीलाई ११ हजार रुपैयाँसहित निशु्ल्क भैंसी बीमाको अवसर प्रदान गरिएको छ । प्रतियोगितामा किसान नरबहादुर कार्कीको गोठमा पालिएको चम्पा नामको भैंसीले दोस्रो उपाधिसहित ९ हजार तथा बेधनिधि दाहालको काली नामकी भैंसीले ५ हजार रुपैयाँ पाएका थिए ।

यसैगरी चौथो हुने किसान हरिप्रसाद नेपालको काली नाम गरेकी भैंसीले ३५ सय रुपैयाँ र पाचौं हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामक भैंसीले २५ सय रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगितामा बिजयी सबै भैँसीको बीमाको अवसर समेत उपलब्ध गराएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रका भैंसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो, डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी विजेता छानेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्