बालबालिका र युवायुवतीमा किन बढ्दैछ आत्महत्या
पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।
तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिक रुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन ।
मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं सोचाइमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ ।
मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाइ र व्यावहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।
स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिएका छन ।
पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत रहेको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ ।
डा.वासुदेव कार्कीका बाल्यकालमा नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्ता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन ।
मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल भन्छन–‘स–साना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो ।’
डा.प्याकुरेल भन्छन–‘अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्नुपर्छ । ती कुरालाई सकभर पूरा गर्ने बानी बसाल्नुपर्छ । पूरा नभए के कारणले नहुने हो जवाफ दिनुपर्छ । अभिभावकले उनीहरुको कार्यबोझ हटाइदिनुपर्छ ।’
मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरेका थिए । तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वका १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण र नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्