मेलम्चीको पानी केही दिनमा आउँछ त प्रधानमन्त्रीज्यु ?
हिँजोदेखी लागु भएको सामाजिक सुरक्षा योजनाले अहिले खुबै चर्चा र बहस पाएको छ । यसका राम्रा र नराम्रा पक्षका बिषयमा बिभिन्न टिकाटिप्पणी र बहसहरु भईरहेका छन् । सामाजिक सुरक्षा कोष भन्दा बढी कार्यक्रम घोषणाका बेला प्रधानमन्त्री ओलीले बोलेका कुराले झन व्यापक चर्चा पाईरहेका छन् ।
केही दिन अघि विपक्षि नेपाली कांग्रेसले बैठक बसेरै सरकार हुनु र नहुनुको अनुभुति जनतालाई नभएको र सरकार कहाँ छ भनेर खोज्नुपर्ने बेला भएको भनेर सरकारमाथी प्रश्न उठाएपछी त्यसको जवाफ स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए–‘केही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ।’
काकाकुल काठमाण्डौबासीले मेलम्चीको आशमा घाँटी सुकाउन लागेको दशक बढी भईसक्यो तर त्यो मेलम्ची सँधै प्रधानमन्त्री ओलीको जस्तो भाषणमा मात्र आउँदै जाँदै गर्छ । मेलम्चीको आसमा कति हिलोमय बर्षा बिते, कति धुलो धुवाँमय हिउँद बिते त्यो हिलोधुलो खाँदै हिँड्ने सर्बसाधारणलाई मात्रै थाहा छ । तर मेलम्चीको पानी अँझैसम्म आएको छैन ।
मुलुकको कार्यकारी प्रमुखले ‘केही दिनमै मेलम्ची आउँछ’ भनेपछि जनता उत्साहित नहुने कुरै भएन । तर, प्रश्न छ, यो केही दिन भनेको कति हो ? एक हप्ता, एक महिना वा एक वर्ष ? यसको उत्तर स्वयंम सरकारसँग पनि छैन । गएको दशैंमा सुन्दरीजलमा पानी झार्ने योजना असफल भएपछि मेलम्ची खानेपानी आयोजनाले नयाँ मिति तोक्न सकेको छैन ।
यद्यपि काम भने आफ्नै गतिमा भइरहेको छ । खानेपानी मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अहिलेको रफ्तारमा काम हुने हो भने मेलम्ची आउन अझै केही महिना लाग्छ । ‘हामीले कम्तिमा एक सय दिन त अँझै सुरुङ र ड्याम साइटमै काम गर्नुपर्नेछ’ एक अधिकारीले भने,’त्यो पनि बीचमा ठेकदारले बखेडा झिकेन भने मात्र ।’
मेलम्ची आयोजनाको काम समयमा कहिल्यै पुरा नहुनुको एउटा प्रमुख कारण हो ठेकेदार । उसले अनेक बहानामा काममा ढिलाई गर्ने गरेको अधिकारीहरु बताउँछन् । सुरुङ र ड्यामको काममा प्राविधिक कठिनाई आउँदैन भनेर ठोकुवा गर्ने अवस्था हुन्न । उनले भने–‘कार्ययोजना अनुसार नै सुन्दरीजलमै पानी झार्न पनि कम्तिमा ३ महिना त लाग्छ ।’
अहिले सुरुङमार्ग सर्फेस फिनिसिङ र सतहमा लाइनिङ (क्रंक्रिट ढलानसहित फिनिसिङ) को काम भइरहेको छ । यो काम सक्न मात्रै कम्तिमा एक महिना लाग्छ । आयोजनाका एक अधिकारी भन्छन–‘अहिले नरम चट्टान भएका ठाउँमा सुरुङ फिनिसिङको काम भइरहेको छ । त्यसैले यहाँ अन्यत्र भन्दा ढिला हुन्छ तर, एक महिनामा यो काम सकिन्छ ।’
यो सँगसँगै सुरुङमार्गमा भेन्टिलेसन राख्नका लागि पनि छेड्ने काम भइरहेको छ । एक ठाउँमा ४ इन्चको प्वाँल पारेर त्यसलाई ठूलो पार्ने काम भइरहेको छ । सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर जान सक्ने गरी ‘एयर भेन्ट’ राख्नुपर्छ । तीन ठाउँमा यस्ता एयर भेन्ट राख्नुपर्छ । त्यसका लागि सुरुङबाट माथिल्लो भागमा प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गर्नुपर्छ ।
दुई ठाउँमा गेट लगाएर अडिट टनेलहरु थुन्ने काम भइरहेको छ । अन्य ठाउँमा पनि फिनिसिङको काम सकिएपछि अडिट टनेलहरु थुन्ने काम सुरु हुनेछ । भेन्टिलेसन र अडिट टनेल थुन्न चाहिने सबै उपकरण र सामानहरु आइसकेको छ । मेलम्ची थुनेर सुरुङमा पानी हाल्ने प्रयोजनका लागि आवश्यक प्रायः सबै संरचना तयार भइसकेको छ ।
एउटा अस्थायी ड्यामको काम बाँकी छ । त्यो काम गर्न त्यो एक–दुई हप्ताको समय नै काफी हुने भएकाले आयोजनाले अन्य जटिल काममै ध्यान दिइरहेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताएका छन् ।
उनले जतिसक्दो छिटो काठमाडौंमा मेलम्चीको पानी ल्याउन सबै काम समानान्तार रुपमा भइरहेको भन्दै सबै परिस्थिति अनुकुल रहेमा धेरै समय नलाग्ने बताए । तर, उनले कहिले काठमाडौंमा पानी झार्ने गरी आयोजनाले काम गरिरहेको छ भन्नेबारे केही खुलाएनन् ।
आयोजनाको सुरुङभित्र अनलाइन मनिटरिङ गर्न सीसी क्यामेरा जडानका लागि तयारी सुरु भएको कँडेलले बताए । त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।
यस्तै सुरुङभित्रका सबै काम सकिएपछि पनि टेस्टिङ कमिसनिङ (सुरुङको निर्माणको गुणस्तर र त्रुटीको परीक्षण)का लागि एक महिनाजति समय लाग्ने आयोजना प्रमुखको भनाइ छ । यदि यो टेस्टिङमा केही गम्भीर समस्या देखिए त्यसको पनि मर्मत गर्नुपर्ने हुन्छ ।
यो सबै काम सकाएपछि सुरुङमार्गमा पानी हाल्न सकिन्छ । तर, सुन्दरीजलमा झरेको पानी घरघरमा र्पुयाउन सजिलो छैन । सुन्दरीजलमा पानी झरेपछि एक महिनाभन्दा बढी समय त पाइपलाइन सफा गर्न नै लाग्छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । सुरुङ खन्ने काम सकिए पनि त्यसभित्रका मसिना तर, जटिल काम बाँकी नै छन् ।
सरकारले इटालियन कम्पनी सीएमसीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्ने गरी सम्झौता गरेको थियो । आयोजनाका अनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।
इटालियन कम्पनीले २०१४ बाट मेलम्चीको सुरुङ निर्माणको जिम्मा पाएको थियो । यसअघि चिनीयाँ ठेकेदार कम्पनी चाइना फिफ्टिन रेल्वे ब्युरोले ढिलासुस्ती गरेको भन्दै सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो ।
सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्