‘नाई मलाई थाहा छैन’ साढे ३ करोडले हेरे युट्यूवमा
नेपाली गीतसंगीतले हाल युट्युबमा राम्रो भ्युज पाउन थालेको छ । गायकगायिका सञ्जीव पराजुली र टीका प्रसाईंले गाएको ‘नाइ मलाई थाहा छैन’ बोलको गीतले ३ करोड २५ लाख बढी भ्युज पाउन सफल भएको छ ।
हालै राजधानीमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट युगल गायनको अवार्ड जित्न सफल यस गीतमा रचना एकनारायण भण्डारी र संगीत आशिष अविरलको रहेको छ ।
गायक सञ्जीवको युट्युब च्यानलबाट सार्वजनिक यस गीतलाई यो समाचार तयार पार्दासम्म ३ करोड २५ लाख बढी पटक हेरिसकिएको छ । नेपाली गीतसंगीत क्षेत्रको इतिहासमा कुनै नन फिल्मी गीतले लामो समयसम्म अर्थात् करिब डेढ वर्ष सबैभन्दा बढी युट्युब भ्युज पाउन सफल भएको यो पहिलोपटक हो ।
ओरिजिनल र क्लब मिक्स गरी २ भर्सनमा सार्वजनिक यस गीतको ओरिजनल भर्सनमा अन्र्तराष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताका लागि ४० भिडियो छनोट भएकामा विजयी एक भिडियोलाई १ लाख रुपिया र दोस्रो हुने भिडियोलाई २५ हजार रुपिया नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

यस गीतकी गायिका टीका प्रसाईंलाई पछिल्लो समयमा सफलतै सफलता मिल्दै आएको छ । उनले यसै वर्ष आयोजित कालिका अवार्डमा यही गीतबाट सर्वोत्कृष्ट पप गायिकाको अवार्ड चुमेकी थिइन् भने म्युजिक भिडियो अवार्डमा यसका गायक पराजुली सर्वोत्कृष्ट गायक भएका थिए ।
टीकाले यसै वर्ष सम्पन्न इमेज अवार्डमा अर्को गीत माया लुकी लुकीबाट अवार्ड उचालेकी थिइन् । उनको यो गीत पछिल्लो समय चर्चाको शिखरमा रहेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्