सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जेब्रा क्रसमा माइक्रोले किचेर १ को मृत्यु, ४ घाईते

राजधानी काठमाण्डौको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । माइक्रो बसको ठक्करबाट अन्य ४ जना घाइते भएका छन् ।

इन्सपेक्टर केसीका अनुसार ज्यान गुमाउनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल रहेकी छिन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिएका छन् ।

घटनामा खोटाङकी १९ वर्षीया सपना राई, काटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीकी ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ ।

फाईल तस्विर

घटनामा घाइते भएका सुशिल अधिकारीले जेब्रा क्रसमा हुत्याएर माइक्रो ल्याउँदा दुर्घटना भएको बयान दिएका छन् । उनले प्रहरी अधिकारीहरुसँग भनेका छन–‘हामी बाटो काट्न लागेका थियौं । एउटा बस आयो । त्यो कटेपछि क्रस गर्दै थियौं । एक्कासि माइक्रो हुत्तिएर आयो ।’

कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले सडक पार गर्दै गरेका उनीहरुलाई ठक्कर दिन पुगेको थियो । प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरेको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्