सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लाजमर्दो, धुलोले गर्दा करोडौँका सोलार बत्ति बेकाम

उपत्यकाका सडकमा जडान गरिएका अधिकांश सोलारबत्ती ‘धिपधिप’ बल्छन । बलेका बत्तीको उज्यालो सडकसम्म आइपुग्दैन । कुनै त बल्दै बल्दैनन् । सोलार प्यानल धुलैधुलोले छोपिएका छन् । सम्बन्धित निकायसँग प्यानल सफा गर्ने चेस्टा देखिँदैन । जसले सडकबत्ती नाम मात्रैका बनेका छन् ।

सडकबत्तीले काम नगरेको जनगुनासो आएपछि ललितपुर महानगरपालिकाले विद्युतीय लाइट ‘स्ट्रिट स्मार्ट लाइट’ जडान गर्ने भएको छ । सोलारबत्तीमा प्राविधिक त्रुटी बारम्बार दोहोरिने र मर्मत–सम्भार गरिरहनुपर्ने भएकाले स्मार्ट लाइट जडान गर्न लागिएको मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

स्मार्ट लाइट ‘सेल्फ सेन्सर’मा आधारित हुनेछ । सडकमा मानिस आवत–जावत गर्दा बत्ती आफैँ बल्नेछ । मानिसको चहलपहल नभएका वेला भने बत्ती आफैँ निभ्नेछ । जसका कारण विद्युत्समेत कम खपत हुन्छ । सिसिटिभी जडान भएको ठाउँमा भने केही बत्ती निरन्तर बल्नेछन् ।

ती बत्तीले ‘एम्बोस्ड’ नम्बरप्लेट रिड गर्न सक्नेछन् । ललीतपुरका मेयर चिरिबाबु महर्जनले भने–‘ नेपालमै पहिलोपटक हामी स्ट्रिट स्मार्ट लाइट जडान गर्दै छौँ । आवश्यक परेका वेला मात्रै बल्ने हुँदा विद्युत् खपतसमेत कम हुन्छ  । साथै सुरक्षाका हिसाबले पनि सिसिटिभीलाई काम गर्ने र नम्बरप्लेट रिड गर्न सक्ने भएकाले उपयोगी हुनेछ ।’

अहिले ललितपुर महागनर क्षेत्रमा जडान गरिएका १० करोड ८३ लाख बराबरका सडक सोलारबत्ती काम नलाग्ने अवस्थामा पुगेका छन् । स्थानीय तहको निर्वाचनअघि महागनर क्षेत्रमा ९२६ सडकबत्ती जडान गरिएको थियो । प्रतिगोटा १ लाख १७ हजार रुपैयाँका दरले जडान गरिएका ती बत्तीमा थुप्रै प्राविधिक त्रुटी भेटिएको महानगरले जनाएको छ ।

सडकबत्तीको दुरावस्था काठमाडौं महानगरमा अझ बढी छ । तर, महानगरपालिकासँग समस्या समाधानको कुनै योजना छैन । ललितपुर महानगरले स्ट्रिट स्मार्ट लाइट जडान गर्ने तयारी गरिरहँदा काठमाडौं महानगरको भने कुनै योजना नरहेको प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन् ।

‘उज्यालो मेयर’ कार्यक्रममार्फत ३२ वडाका मुख्य–मुख्य ठाउँमा सडकबत्ती राख्ने योजना काठमाडौं महानगरको छ । त्यसका लागि महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।

काठमाडौं महानगरसँग सडकका सोलारबत्ती सफा गर्ने एउटा बकेट क्रेनसमेत छैन । महानगरभित्र कति सडकबत्ती छन् भन्ने यकिन तथ्यांकसमेत नरहेको पूर्वाधार विकास समितिका संयोजक दीपक केसीले बताएका छन् । प्रवक्ता डंगोलले सोलार प्यालनमा थुप्रिएको धुलोले सडकबत्ती बल्न छाडेको बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्