श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउँदै
जापानमा नेपाली कामदार लैजाने भएपछि श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउने भएको छ । जापानले नेपालसंगै थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलिया, फिलिपिन्स, म्यानमार लगायत ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने जनाइएको छ ।
औपचारिक रुपमा कमदार लैजाने मिति घोषणा नगरिए पनि सम्भवत; आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताइएको छ । जापानी विदेश मन्त्री तारो कोनोले नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै सम्भवत; चैतदेखि नेपाली कामदार जान पाउने बताएको बुझिएको छ ।
जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।
पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन । यसको टुङ्गो पनि प्राविधिक टोली आएपछि लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ ।
जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।
सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् ।
नेपालको दुईदिने भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार गरेका शिष्टाचार भेटमा नेपाली कामदार जापान लैजाने र नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकोमा प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्