रेडियो नबज्ने गाउँमा पुलिस गएपछी लुके गाउँले
बाजुराको गौमुल गाउँपालिका–१ स्थित अन्द्राडी गाउँमा पहिलोपटक प्रहरी पुग्दा गाउँबासी डराएर सबै घरभित्र लुकेका छन् । गाउँघरमा हुने खुला मदिरा सेवन र बिक्री–वितरणमा रोक लगाएपछिको अवस्था अनुगमन गर्न प्रहरी टोली गएको थियो ।
गाउँमा प्रहरी आएको देखेपछि स्थानीयवासी डरले लुक्न पुगेका थिए । कोही पनि घरबाट निस्केनन् भने घरबाहिर रहेका समेत डरले थरथर काम्न थाले । कारण थियो–‘पहिलोपटक गाउँमा प्रहरीको आगमन ।’ केही महिनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोली गाउँमा पुगेको थियो ।
सो टोलीलाई मदिरा व्यवस्थापनपछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएको थियो । प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन् भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसँग बोल्न नै सकेनन् ।

साठी वर्षीया फुगे रोकायाले डराउँदै भनिन्–‘तमी को हौ ? काँ जादाँ भया ? तमी हामी जसा आछिन् । कपडा पनि कसा न लगायाका !’ प्रहरी हवल्दार मनिराज भण्डारीले जवाफ दिए–‘होइन, हामी पनि तपाईंजस्तै मान्छे हौँ । हामी प्रहरी मान्छे हौँ । हामी तपाईंहरुको गाउँ अनुगमन गर्न र तपाईहरूकै सुरक्षाका लागि भनेर आएका हौँ ।’
‘हामीले अहिलेसम्म यसरी प्रहरीलाई देखेकै थिएनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ । यो गाउँमा कोही पनि आउँदैन थिए,’ स्थानीय साउने बोहराले भने, ‘अहिले भने अलिअलि आउन लागेको भए पनि हामीले प्रहरी देखेकै थिएनौँ तर पनि प्रहरी हामी जस्ता नै हुदाँ रहेछन् ।’
अर्का एक युवाले भने–‘प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन् ।’ प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भएर झुम्मिए ।
प्रहरी हवल्दार भण्डारीले भने, ‘पछी त उनीहरु खुलेर बोले । हामीलाई सबै कुरा भने । अब तपाईंहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरे ।’
जिल्लाको सानो गाउँ हो अन्द्राडी । त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए । हामी गौमुल गाउँपालिकाकै विकट वडाका रुपमा छौँ ।
पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे उनले बताए ।
रोकायाको गुनासो थियो–‘अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा रहेको छ । यहाँ न टेलिफोन लाग्छ, न त रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्