भोटेकोसीको बाढीले बगाएर दुई ईञ्जिनियर बेपत्ता
अबिरल वर्षापछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् । घाइते दुई जनालाई उद्धार गरी उपचारका लागी काठमाडौं पठाइएको छ ।
भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिएका छन् ।
डिएसपी काफ्लेका अनुसार कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते भएका छन् । उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन् ।

घटना शनिबार मध्यरातिको भए पनि आइतबार बिहान ७ बजे मात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ ।
बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ । क्षतिको पूर्णविवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्