सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल एसीसी यू–१९ प्रतियोगिताको फाईनलमा

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपालले मलेसियालाई ७ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरेका थिए । सार्कीले ३४ बलमा ३३ रन र पौडेलले २९ बलमा ३१ रन बनाई अविजित रहेका थिए ।

ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाएका थिए । ओपनर रित गौतम १४ बलको सामना गरी जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए । छिट्टै लक्ष्य भेटाउने धुनमा खराब सट खेल्दा प्रारम्भिक ब्याट्सम्यान आउट हुन पुगेका थिए ।

under 19 cricket

मलेसियाका लागि हैक्वल मोद खैरले दुई र मोहमद अमिरले एक विकेट लिएका थिए । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको मलेसियाको युवा टोलीले ४०.५ ओभरमा सबै विकेट गुमाइ ८७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि सागर ढकालले ३ विकेट लिएका थिए । त्यसैगरी कुशल मल्लले २, कमलसिंह ऐरी, रासिद खान र तिलक राज भण्डारीले एक–एक विकेट लिएका थिए । मलेसियाका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

मलेसियाका लागि मोहमद अमिरले २४, हइक्वाल ममोद खैरले १२, वान अमिरुल जुलकार्निनले ११ रन र अहमद अकमल आलिफले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । समूह चरणको खेलमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्