सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ १६ बाँदरको सामुहिक मृ*त्युको कारण

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १३, ठूलो सिरुवारीका पुष्पाखर दुलाल गत मंगलबार रुम्सीस्वाँरामा गोरु चराउँदै थिए । मध्यान्ह चार बजेतिर आफ्नो गोठ भन्दामाथिको महाकालेश्वर मन्दिरको गुठी खेतमा उनले बाँदरको हुल झुम्मिरहेको देखे ।

गाउँवस्ती भन्दा अलि टाढा जंगलले घेरिएको खेतमा बाँदरको हुल देखिनु नौलो कुरा थिएन । खेतमा धान रोपाइँ सकिसकेको थियो । पाँच बजे आसपासमा बाँदरहरू अनोठो आवाज निकालेर कराउन थाले ।

त्यसपछि पुष्पाखर गोठमा गोरु बाँधेर बाँदरको हुल खेलिरहेको खेततिर उक्ले । उनी पुग्दा पानी जम्मा गर्न बनाइएको ट्याङ्की वरिपरि झुम्मिएका बाँदर कराइरहेका थिए ।

सिमेन्टले प्लास्टर गरिएको ट्याङ्की नजिक जान भने दुलाल सकेनन् । ‘नजिक जान खोज्यो कि बाँदरहरू झम्टिन आइहाल्थे’ उनी भन्छन्, ‘त्यतिबेलासम्म ट्याङ्कीभित्र एउटा बाँदर फसिसकेको रहेछ, फसेको साथीलाई मा*र्ला भनेर हो कि किन हो ? अरुबेला भन्दा आक्रामक भएर झम्टिन आए ।’

७५ वर्षीय पुष्पाखर जोड–जोडले चिच्याउन थालेपछि स्थानीय क्षेत्रबहादुर दुलाल पनि त्यहाँ आए । नजिकै गोठ भएका होमनाथ चौलागाई पनि आइपुगेपछि बाँदर केही हच्किएजस्तो देखियो ।

बर्ष ७४ का क्षेत्रबहादुरले भने–‘ट्याङ्कीभित्र पुग्दा माछा जस्तै बाँदरहरू यताबाट उता, उताबाट हुलुलु–हुलुलु गरिरहेका थिए ।’ बाँदरबाट पीडित भएकाले होला उपस्थितमध्ये एक जनाले ट्यांकीभित्रै ढुंगाले हानेर मा*रौं भन्न पनि भ्याए ।

पानीले निथ्रुक्क भिजेका, ढाडमा बच्चासमेत बोकेका बाँदरहरूको अनुहार देखेपछि गाउँलेको मन पग्लियो । उनीहरू बाँदरलाई त्यहाँबाट निकाल्नुपर्छ भन्नेमा पुगे । तर, बाँदरले टोक्ला भनेर ट्याङ्कीमा पस्ने आँट भने कसैले गरेनन् ।

तर, गोठबाट ५/६ फिट अग्लो बाँस ल्याएर बाँदर निकाल्न शुरु गरे । ‘शुरुमा डराएका बाँदरहरू केहीबेरपछि भने त्यो बाँसमा समाउन आए’ क्षेत्रबहादुर भन्छन्, ‘बाँसमा समात्न आएका मध्ये ६ वटालाई पालैपालो बाहिर निकाल्यौं ।’

Monkey Mass Death in Sindhupalchok

साँझ पर्न थालेपछि त्यही बाँसलाई ट्याङ्कीमा र्भयाङ जस्तो बनाएर छाडियो । तीनैजना आ–आफ्नो घर फर्किए । साविक ठूलोसिरुवारीका पूर्वगाविस अध्यक्ष समेत रहेका क्षेत्रबहादुरले भने–‘त्यसको भोलिपल्ट बिहान पुग्दा त्यहाँ १६ वटा बाँदर मरि*सकेका रहेछन् । दुईवटा बाँदर एउटा ठूलो जिउँदो बाँदरको ढाडमा चढेर बसेका थिए, ती तीनवटैलाई निकालियो ।’

के बाँदरको सामूहिक आत्मह*त्या हो त ?
बाँदर मरे*को तस्वीर फेसबुकमा सार्वजनिक भएपछि बाँदरले ‘सामुहिक आत्मह*त्या’ गरेको हल्ला चल्यो । कतिपयले बाँदर निराश भएर आत्मह*त्या गरेको भन्न भ्याए । कतिले पानीमा आफ्नै छाँया देखेर पोखरीमा हामफालेको अड्कल काटे । कतिले शुरुमा डुबेको बाँदरलाई बचाउन जाँदा अरु बाँदर मरे*को हुन सक्ने सही अनुमान लगाए ।

द टाइम्स पत्रिकाले १९३२ मै एउटा बाँदरको आत्मह*त्या सम्बन्धी समाचार प्रकाशित गरेको थियो । इलेस्ट्रेटेड लण्डन न्युजले १८४५ मा कालो कुकुरको आत्मह*त्या सम्बन्धी समाचार छापेको थियो । संसारभरि नै बेलाबेलामा यस्ता समाचार आइरहन्छन् । तर, प्राणीशास्त्रीहरू भने अहिलेसम्मको अध्ययनअनुसार जनावरले आत्मह*त्या नै नगर्ने बताउँछन् ।

बाँदरको विषयमा विद्यावारिधि गरेका प्राणीशास्त्री मुकेश चालिसे भन्छन्–‘बाँदरले मात्रै होइन, कुनै पनि जनावरले आत्मह*त्या गर्दैन । आत्महत्या नै नगर्ने भएपछि सामूहिक आत्मह*त्या र्गयो होला भन्ने त झन कुरै भएन ।’

डा. चालिसेका अनुसार एकै ठाउँमा धेरै बाँदर मरेको हुनाले सामूहिक आत्मह*त्या होे कि भनेर अनुमान गरिएको मात्रै हो । बाँदर लगायतका जनावरले आत्मह*त्या मात्रै होइन, बला*त्कार, ठगी, सामूहिक अनुशासन उल्लंघन पनि कहिल्यै नगर्ने उनी बताउँछन् ।

पोखरी बाँदरलाई धराप थाप्न बनाइएको होइन
चौतारा साँगाचोकगढी–१३, कोटडाँडाका ८४ वर्षीय टेकबहादुर थापा त्यसक्षेत्रमा केही वर्षयतामात्रै रातो रंगका बाँदर देखिएको बताउँछन् । आफू सानो हुँदा फाट्टफुट्ट मात्रामा सेतो बाँदर मात्रै देखिएको उनको अनुभव छ ।

पछिल्लो पाँच÷छ वर्षदेखि बाँदरले बाली खाएर कृषकहरूलाई सताउनु सताएको थापा बताउँछन् । उनी भन्छन्–‘बालीनाली सखाप पार्ने मात्रै होइन, महिला र बालबालिकालाई त बाँदरले पटक–पटक आक्रमण नै गरिसकेको छ ।’

बाँदरकै कारण धेरै कृषकले हिउँदे बाली लगाउन छाडेको थापाले जानकारी दिएका छन् । उनी भन्छन्–‘हरेकजसो घरबाट एकजना त बाँदर कुर्न जानैपर्छ ।’ बाँदर पीडित किसानहरूले ट्याङ्कीमा खसालेर मा*रे कि, विष खुवाए कि वा करेन्ट लगाएर मा*रे कि भन्ने एकथरीको आशंका देखिन्छ । तर, उद्धारकर्ता, प्रत्यक्षदर्शी र जनप्रतिनिधिहरूसँग कुराकानी गर्दा किसानहरूले त्यहाँ बाँदर मा*र्न खोजेको बुझिँदैन ।

भोलिपल्ट (बुधबार) बिहानसमेत तीनवटा बाँदरको उद्धार गरिएकाले त्यहाँ करेन्ट हुने सम्भावना देखिँदैन । बरु, उद्धारमा भने बेलैमा आवश्यक ध्यान पुग्न सकेको देखिँदैन । किनभने, पोखरीको पानी भोलिपल्ट मात्रै खाली गरिएको थियो ।

वडाध्यक्ष रामप्रसाद गौतम भने कतिपय विश्लेषकले स्थानीयलाई अनावश्यक आरोप लगाएको गुनासो पोख्छन् । ‘बाँदर म*रेको स्थानमै नपुगी विश्लेषण गर्नु कति वस्तुगत र जायज हो ?’ गौतम भन्छन्–‘घट्नास्थानमा पुगेर हेर्ने हो भने वास्तविकता थाहा पाउन सजिलो हुन्छ ।’

के हुन सक्छ त १६ बाँदरको मृ*त्युको कारण
१६ वटा बाँदर मरे*को स्थान काठमाडौंबाट ८० किलोमिटर पूर्वमा पर्छ । त्यस क्षेत्रमा किसानहरूले खेतमा लगाउने उद्देश्यले पानी जम्मा गर्न सिमेन्टले प्लास्टर गरेर ट्याङ्की बनाउने गरेका छन् । त्यसै मध्येको एउटा ट्याङ्कीमा गत मंगलबार २५ बाँदर खसेका थिए । पुन नपुग पाँच फिट गहिरो पोखरीमा त्यो दिन आधाजति पानी थियो ।

प्राणीशास्त्री डा. चालिसे भन्छन्–‘पानीभित्र पसिसकेपछि उफ्रनका लागि जमिनमा टेक्न नसकेको र भित्तोको माथिल्लो भागलाई समात्न पनि नसकेको हुँदा ती बाँदर म*रेका हुन सक्छन् । धेरै लामो समय पौडी खेलेरै बस्नुर्पयो भने गलेर पानीमा डुब्ने सम्भावना हुन्छ ।’

उद्धारकर्ता क्षेत्रबहादुर पानीले गर्दा भित्तो चिप्लो भएर बाँदर बाहिर निस्कन नसकेको बताउँछन् । उनी भन्छन्–‘ट्याङ्की पुरै भरिएको भए पनि बाँदर नम*र्ने रहेछ ।’

संरक्षित बन्यजन्तुमा पर्ने बाँदर मरे*कोमा सरोकारवालाको बेवास्ता
बाँदर मरे*को विषयमा स्थानीयले तुरुन्तै जिल्ला वन कार्यालयमा खबर गरेका थिए । तर, एउटै नगरपालिकाभित्र त्यत्रो बाँदर मरे*को खबर पुग्दा पनि वन कार्यालयका अधिकारीहरूले वास्ता गरेनन् ।

‘२० किलोमिटरको दुरीमा रहेको वन कार्यालय (चौतारा)बाट कोही नआएपछि हामीले ट्याङ्कीकै छेउमा खनेर गाड्यौं’, एक स्थानीय भन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार बाँदर संरक्षित वन्यजन्तुमा पर्छ ।

ऐनले बाँदरसहित २७ थरी स्तनधारी जनावरलाई संरक्षितको सूचीमा राखेको छ । कानूनमा बाँदर मा*र्नेलाई एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म कैदको व्यवस्था छ ।

विश्वमा पाइने २३४ मध्ये नेपालमा ६ प्रजातिका बाँदर पाइन्छन् । डा. चालिसेका अनुसार नेपालभरि पाइने राता बाँदर एउटै प्रजातिका हुन् । हेर्दा रातो बाँदरजस्तै देखिने तर मुख र चाक रातो नभएका बाँदरलाई रातो बाँदर भनिन्छ ।

जनावरले आत्मह*त्या गर्दैनः प्राणीशास्त्री डा. चालिसे
संसारमा रहेका पाँच हजार भन्दा बढी स्तनधारी जनावर र सबै किरा फट्याङ्ग्राहरू एक अर्कामा फरक छन् । रातो बाँदरको उत्पत्ति चालिस हजार वर्ष भन्दा अगाडि भएको हो । त्यतिबेला मान्छेको उत्पत्ति भइसकेको थिएन ।

पुच्छर भएका २५९ र पुच्छर नभएका पाँच प्रजातिका बाँदर भए । पुच्छर नभएका मध्ये चारवटा प्रजातिका बाँदरहरू अँझै पनि जंगलमा छन् । अर्को एउटा प्रजाति शहर र गाउँघरमा बस्छन् । त्यो प्रजाति भनेको मानिस हो ।

चिम्पाञ्जी मान्छेको सबै भन्दा नजिकको जनावरमा पर्छ । मश्तिष्क क्षमताबाहेक बाँदरसँग हाम्रो ९८ प्रतिशत कुरा मिल्छ । उसको क्रियाकलाप, मायाप्रेम, पारिवारिक स्नेह, खानेखोज्ने र प्रयोग गर्ने धेरै कुरा मान्छेसँग मिल्छ । त्यही भएर जीवविज्ञानको अध्ययनमा रातो बाँदर र चिम्पान्जीलाई प्रयोग गरेको पाईन्छ ।

आजसम्मको वैज्ञानिक तथ्यले के भन्छ भने जीवित प्राणी मध्ये मानिससँग मात्रै भिन्न खालका र अतिरञ्जित खालका व्यवहार देखिन्छन् । मानिसको भाषा छ तर अरु प्राणीले संवादका लागि आवाज र इसाराको प्रयोग गर्छन् ।

मानिस बला*त्कार गर्नसक्छ । संसारमा अरु कसैले बला*त्कार गर्दैन । जनावरले मानिसले जस्तो धुत्र्याई गर्दैन । आफ्नै समूहका लागि ठग्दैन, धोका दिँदैन, सामूहिक अनुशासन उल्लंघन गर्दैन ।

एकै ठाउँमा मरेको हुनाले सामूहिक आत्मह*त्या र्गयो कि भन्ने लाग्नसक्छ । तर जनावरले कहिल्यै पनि आत्मह*त्या गर्दैन । दश वर्ष अगाडि पशुपतिमा एउटा बाँदरलाई करेन्ट लाग्यो । त्यो समूहका २५–३० वटा बाँदरको मृ*त्यु भयो । करेन्ट लागेकालाई बचाउन जाँदा अरु बाँदर पनि म*रे । तर त्यो पनि आत्मह*त्या थिएन । संसारमा यस्ता उदाहरण अन्त पनि छन् ।

थापाथली क्षेत्रमै बाँदर खसेर, करेन्ट लागेर म*र्दा एक ठाउँमा जम्मा भएर शोक मनाउँछन् । थापाथलीकै कुरा गर्दा सञ्चार माध्यमले बाँदरले जुलुस निकालेर ट्राफिक आवागमन अवरुद्ध पार्यो भनेर लेखे । त्यो सरासर गलत थियो । बाँदर शोक मनाउन जम्मा भएका थिए ।

अगाडि भेडा र्म*यो भने अरु भेडा पनि म*र्न जान्छ भनिन्छ नि । त्यो पनि गलत हो । आफ्नो साथी अगाडि गएको हुनाले सुरक्षित होला भनेर गएको हो । सुरक्षित नभएको कारणले मरे*को हुन्छ, आत्मह*त्या गरेर होइन ।

१९८३–८४ तीर लाङटाङमा कस्तुरी मृग भीरबाट लडेर मरे*को थियो । त्यतिबेला पनि मान्छेहरू मृग भीरबाट लडेर म*र्छ र भनेर छक्क परेका थिए । भएको के थियो भने हिउँ चितुवाले लखेट्दा चट्टानी भूभागमा उभिन नसकेर खसेर मरे*को थियो ।

जसरी भूकम्पका बेला ज्यान जोगाउन भाग्दा मरेकोलाई त आत्मह*त्या भनिँदैन ठीक त्यसै गरी ती बाँदरले सामूहिक आत्मह*त्या गरे भन्ने कुरा पनि मिल्दैन । साढे चार, पाँच फिट अग्लो ट्याङ्कीमा आधा पानी, प्लास्टरे चिप्लो भित्तो र समात्न सकेन भने बाहिर निस्कन नसक्ने सम्भावना छ । तर, बाँदर यति चलाख हुन्छ की अर्काको ढाडमा टेकेर पनि उफ्रिन सक्छ ।

कँही कतै विषालु पदार्थ खाएर, तिर्खा लगाएर त्यो पोखरीमा हाम फालेका हुन् कि ? वा पानी भित्र पसिसकेपछि जमिनमा गएर उफ्रनलाई र आधा पानी हुँदा भित्तोको माथिल्लो भागलाई समात्न नसकेको हुन सक्ने सम्भावना प्रवल छ ।

त्यस्तो अवस्थामा धेरै बेर पौडी खेलेर बस्नुपर्ने अवस्था भयो भने पनि म*र्न सक्ने सम्भावना हुन्छ । तर, एकैचोटि १५–१६ बाँदर कसरी म*रे भन्ने अचम्म र आशंकाको विषय हो । ट्याङ्कीबाट पानी निकाल्न सकिने अवस्था रहेछ । तुरुन्तै पानी किन निकालिएन होला भन्ने लागेको छ ।

एउटै पोखरीमा १६ वटा बाँदर म*र्नु राम्रो कुरा होइन । मान्छेले आफ्नो उपयोगका लागि बनाएको त्यो पोखरीबाट जनावरलाई बचाउन विभिन्न तार जाली लगाउन सकिन्छ ।

अहिले बाँदर र्पयो भोलि बालबालिका नपरोस भन्नका लागि पनि सुरक्षित गर्नु जरुरी छ । पोस्टमार्टम र्गयो भने विषादी प्रयोग भएको छ भने पत्ता लाग्छ । सरोकारवालाले अनुसन्धान गर्नु जरुरी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्