चुनावको मुखमा एनआरएनए हेडक्वाटरमा रमिता
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न नवौं विश्व सम्मेलनको तयारी अस्तव्यस्त बनेको छ । एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै नेतृत्वको आलोचना गरेका छन् ।
सबैभन्दा बढी विवाद मतदाता नामावली दर्ताका क्रममा देखिएको छ । एनआरएनले राष्ट्रिय समन्वय परिषदमार्फत टुङ्गो लगाएर ल्याएको नामावली केन्द्रमा आइसकेपछि फेरबदल भएको भन्दै सम्बन्धित देशका अधिकारीले विरोध जनाएका हुन् ।
विशेषगरी अमेरिका, बेलायत लगायतका देशमा प्रतिनिधि फेरबदल भएको उनीहरुको गुनासो छ । एनआरएनए निर्वाचन कमिटीले अक्टोबर १० देखि १४ (आज) सम्मका लागि नामावली दर्ताको लागि समय तोकेको थियो । तर आजसम्म आइपुग्दा दर्ता प्रक्रिया १५ सयको भन्दा सकिएको छैन ।
एनआरएन महासचिव डा. बद्री केसीले सोमबारसम्म १५ सय प्रतिनिधिले नामावली दर्ता गराएको भन्दै आज अवेरसम्ममा २५ सय हाराहारीमा नामावली दर्ता भइसक्ने जानकारी दिएका छन् ।
आफ्नो मताधिकार प्रयोग गर्नका लागि विश्वभरबाट चयन भएर आएका मतदाताले फेरि केन्द्रमा अन्तिम पटक नाम दर्ता गराउनुपर्ने हुन्छ । तर, सुरुका तीन दिनमा उत्साहजनक दर्ता प्रक्रियामा सहभागिता नजनाउँदा र आजै मात्रै दर्ता गराउनेको चाप हुँदा एनआरएनए परिसरमा चर्काचर्कीसमेत सुन्न पाइन्छ ।
प्रविधिको जमानामा पनि मतदाता नामावली दर्ता गराउन ६÷७ घण्टा लाईन बस्नुपर्ने, अनावश्यक झन्झट र सास्ती बेहोर्नु परेको भन्दै मतदाताहरुले असन्तुष्टि जनाएका छन् । धेरै एनआरएनए मतदाताहरुले नेतृत्वले मनपरी गरेको, प्रविधिको जमानामा पनि पुरानो शैली अपनाएको, लाइन अव्यवस्थित बनाएको आरोप लगाएका थिए ।
सोही विषयलाई लिएर एनआरएनए परिसरमा अभियान्ताहरुबीच पटक–पटक चर्काचर्की भएको थियो । यता महासचिव केसीले भने अनलाइन प्रक्रियामार्फत नाम दर्ता गर्ने पहल थालिए पनि विविध कारणले सफल हुन नसकेको भन्दै आगामी दिनमा यसलाई कार्यान्वयन गर्न पहल गरिने बताएका थिए ।
नेपालीको संस्कार नै समयमा काम नगर्ने र अन्तिम समयमा पूरा गर्ने भएको भन्दै उनले यो संस्कार नाम दर्ता प्रक्रियामा पनि देखिएको बताएका छन् । उनले भने–‘नाम दर्ता अक्टोबर १० देखि नै थालिएको हो । तर, साथीहरुले समयमा नाम दर्ता नगराइ आज अन्तिम दिन मात्रै पक्रिया थाल्दा ढिलो भिडभाड भएको हो । हामी नेपाली हौँ, पुरानो बानी अँझैं छाड्न सकेनौं कि !’
उसो त एनआरएनले नवौं विश्व सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन नै विवादित बनेको छ । पत्रकार सम्मेलनमा पत्रकार भन्दा पनि गैरपत्रकार धेरै देखिन्थे ।
जब पत्रकार सम्मेलनमा एनआएरएनएका प्रवक्ता भूषण घिमिरेले लिखित प्रेस वक्तव्य बढेर सक्याए तब ‘प्रश्न भए राख्न’ भन्दै समाचार संयोजक चिरन शर्माले फ्लोरमा माइक दिए । त्यहाँ पत्रकार भन्दा गैरपत्रकारले प्रश्नको वर्षा गरे ।
निकै अव्यवस्थित पत्रकार सम्मेलनमा गैरपत्रकारले एनआरएन नेतृत्वले आर्थिक पारदर्शिता कायम नगरेको मतदाता नामावली फेरबदल भएको, एनआरएनमा राजनीति हाबी भएको जस्ता सवाल उठाए ।
तर प्रश्नको जवाफ दिने क्रममा उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीले कुनै प्रष्ट जवाफ दिएनन् । यद्यपि महासचिव केसीले पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सम्मेलन हुन लागेको बताए । उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेका छन् ।
रोचक त के रह्यो भने पत्रकार सम्मेलनमा अध्यक्ष भवन भट्ट उपस्थित थिएनन् । जब पत्रकार सम्मेलन सकियो त्यसपछि पत्रकार सम्मेलनमा पुगेका भट्टले आफू बिना पत्रकार सम्मेलन गरिएको भन्दै असन्तुष्टि पोखे । उनको असन्तुष्टि साम्य पार्न दोहोर्याएर पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । आगामी नेतृत्वका लागी उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्