सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा एकजना नेपालीमा कोरोना संक्रमण

विश्वभर कोरोना भाईरसको महामारी फैलिरहेका बेला जापानमा बस्ने एक जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । जापानको इवाराकीकेनमा बस्दै आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको टोक्योस्थित नेपाली दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले बताएका छन् ।

संक्रमित युवतीका परिवारले ति युवतीलाई काम गर्ने ठाउँमा कारोना सरेको बताएका छन् । उनलाई मार्च ३० तारिखबाट कोरोना भाइरसको सामान्य लक्षण देखा परेको थियो । कोरोनाको शंका लागेर परिक्षण गराउँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

Korona Virus

परिवारसँग बस्दै आएकी उनलाई कोरोना पोजेटिभ देखिएपछी परिवारका सबै सदस्यलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ । उनको परिवारलाई स्थानिय अधिकारीले कम्तिमा एकहप्ता घरबाहिर ननिस्कन र हिँडडुल गर्न रोक लगाएका छन् ।

परिवारका सदस्यहरुमा भने कोरोना संक्रमण देखिएको छैन । जापानमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३५ सय पुगिसकेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ ।

जापानबाहेक अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, पोर्चुगल, इजरायल, दुवई लगायतका देशमा दर्जनौँ नेपालीमा कोरोना भाईरसको संक्रमण देखा परेको छ । कोरोना भाइरसका कारण अमेरिका १ जना र वेलायतमा २ जनाको ज्यान गएको छ । नेपालमा भने बिहिबारसम्म ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्