सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अष्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्स सञ्जिता

अस्ट्रेलियामा कोरोना भाइरसलाई जितेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् ।

कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले भनेकी छिन्–‘अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र नेपालबाट मेरा आमा–बुवा तथा साथीहरुले मलाई निरन्तर सम्पर्क गरेर मनोबल उकास्नु भयो । म सबैप्रति आभारी छु ।’

भिक्टोरिया राज्यको नर्दन अस्पताल इपिंगका रजिस्टर्ड नर्सका रुपमा कार्यरत सञ्जिता सपरिवार मार्च २२ मा अमेरिकाको न्यूयोर्कबाट मेलबर्न आइपुगेकी थिइन् । चौबिस घण्टाको हवाई यात्रा गरी मेलबर्न आइपुगेकी उनलाई भोलिपल्ट मार्च २३ मा केही अप्ठेरो महसुस भयो । उनको सपरिवारले स्वास्थ्य परीक्षण गराए ।

मार्च २६ मा परिवारका अरु सबै सदस्यको स्वास्थ्य परीक्षणको रिपोर्ट आयो, तर उनको आएन । सञ्जिताले भनिन्–‘मेरो परिवारका सदस्यहरुको रिपोर्टमा कोभिड १९ को संक्रमण थिएन । तर मेरो रिपोर्ट भने ढिलो भयो, मनमा चिसो पस्यो ।

उनले थपिन्–‘तर मलाई पछि स्वास्थ्य बिभाग र अस्पतालबाट सम्पर्क गरेर कोभिड १९ को संक्रमण भएको जानकारी दिइयो । तर, नआत्तिन र परिवारबाट आइसोलेसनमा रहन भनियो ।’

स्वास्थ्य बिभागले अप्ठेरो भएमा आइसोलेसनको व्यवस्थापन सरकारले गरिदिने बताए पनि आफ्नो घरमा पर्याप्त स्थान भएकाले उनले घरमै आइसोलेसनमा बस्ने निर्णय गरिन् । आफैं पनि स्वास्थ्यकर्मी भएकाले श्रीमान् र छोरीहरुलाई मनोबैज्ञानिक असर नपरोस् भनेर उनी सजग पनि थिइन् ।

Sanjita Bastakoti

स्वास्थ्य बिभाग, आफूलाई हेर्ने चिकित्सक र काम गरिरहेको अस्पतालबाट दैनिक धेरै पटक टेलिफोनमा सम्पर्क गरिएको र त्यसले आफूलाई मनोबैज्ञानिक रुपमा निकै सहयोग पनि भएको पनि उनले बताइन् ।

आइसोलेसनमा बस्दा खानपिनलाई निकै ध्यान दिएको बेसार र कागती मिसाएको तातो पानी पर्याप्त पिएको र योगा लगायत शारीरिक ब्यायाम गरेको पनि उनले बताइन् ।

उनले भनिन्–‘मलाई सातौं र आठौं दिनमा अलि अप्ठेरो हुनसक्ने सुझाव दिइएको थियो । त्यस्तै पनि भयो, तर धैर्यतापूर्वक अप्ठेरोलाई पचाएँ ।’ कोरोना भाइरसबारे सरकारले जारी गरेका सूचना र नीतिहरुमा आफू निरन्तर अपडेट भएर आइसोलेसनमा बिताएको उनले जानकारी दिइन् ।

आइसोलेसनको समय सकिन लाग्दा आफू काममा फर्किनुपर्ने स्वास्थ्यकर्मी भएकाले पटक–पटक स्वाब लिएर जाँच गरिएको बताइन् । पुनः जाँच गर्दा पहिलो पटक संक्रमण अन्त्य नभएको देखिएको, तर पछिल्लो दुई पटक संक्रमण नदेखिएको उनले बताइन् ।

उनले भनेकी छिन्–‘म अब कोरोना भाइरसबाट पूर्ण मुक्त भएँ । अहिले त म काममा पनि फर्किसकेकी छु ।’ उनले ‘म स्वास्थ्य क्षेत्रको कामदार हुँ, घरमा बस्न सक्दिनँ’ भन्ने फ्रेम आफ्नो सामाजिक सन्जाल फेसबुकमा राखेकी छन् ।

उनले आफूलाई आफू कार्यरत अस्पताल परिवार र मेलबर्नको छिमेकी समाजले सम्मान गरिरहेको बताउँदै एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण गलत हुनसक्ने तर्फ सबै सचेत हुनुपर्ने पनि बताइन् ।

अष्ट्रेलियामा करिब १ दर्जनलाई कोरोना संक्रमण देखिए पनि हालसम्म मेलबर्नकी नेपाली नर्स सञ्जिता न्यौपाने बस्ताकोटीबाहेक अरुले आफ्नो परिचय खुलाएका छैनन् । उनले आफू स्वास्थ्यकर्मी पनि भएको र कोरोनाविरुद्ध चेतना फैलाउने आफ्नो कर्तव्य ठानेर परिचय सार्वजनिक गरेको उनले बताइन् । उनी नेपालको चितवनको टाँडी निवासी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्