सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वेलायतमा कोरोनाका कारण फेरी १ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ । बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।

ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० दिनअघि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । उनी विगत १८ वर्षदेखि साउथ इष्ट लण्डनमा बस्दै आएका थिए । पोखरास्थित बगाले टोल घर भएका श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरी रहेका छन् ।

मृतक श्रेष्ठ मधुमेहका सामान्य विरामी रहेको बताइएको छ । उनका पिता चित्र श्रेष्ठ र आमा यतिबेला बेलायत भ्रमणका क्रममा बेलायतमै बस्दै आएका छन् । अहिलेसम्म बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरुमा झन्डै एक दर्जन जति पूर्व गोर्खाहरु रहेका छन् ।

संसारभरि ३१ जना नेपालीहरुको निधन भइसकेको छ । मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै रहेको छ । बेलायतमा आइतबार दिउँसोको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६० पुगिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्