नेपालमा एकैदिन २४ जनामा कोरोना भएको पुष्टि
सोमबार मात्रै यसअघि ११ जनामा कोरोना संक्रमण देखिएकोमा फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार विहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार मात्रै नेपालमा नयाँ २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १३४ पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्