नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो बुधवार साँझसम्म यो संख्या २ सय ४३ थियो ।
बिहान ७:४५ बजे जारी गरेको विज्ञप्तिमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो ।
यसअघि आजै बिहान ६ः१५ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय थपिएका संक्रमितमा ४ पुरुष र एक युवती रहेका छन् ।
संक्रमितहरूमा सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र २० वर्षिया युवती रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी अन्य संक्रमितमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षिय युवक र ३५ वर्षका एक पुरुष रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्