शिक्षण अस्पतालका डाक्टरसहित ३८ क्वारेन्टाइनमा
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्