सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतसँगको सीमामा तारबार लगाउः साझा पार्टी

साझा पार्टीले भारतसँगको सीमामा तारबार लगाउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले नेपाल–भारत सीमाका निश्चित नाकाहरू मात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र अन्य भागमा तारबार लगाउन माग गरेको हो ।

नेपाल र भारत दुबैको हितका लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नुपर्ने साझाको निष्कर्ष छ । उक्त पार्टीले सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नसमेत आग्रह गरेको छ ।

साथै द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भए सीमा विवाद नभएका ठाउँमा एकतर्फी रूपमै तारबार लगाउन पहल गर्नसमेत साझाले सरकारको ध्यानाकर्षण गराएको छ ।

Rabindra Mishra

विज्ञप्ति भनिएको छ–‘भारतले कयौं ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल–भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको छ । भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाइ छ ।’

भारतसँगको सीमा विवादमा प्रमुख दलहरूको संस्थागत रूपमा ध्यान नपुगेको र यस विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल लिने साझा पार्टीको अपेक्षा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्