कोरोनाबाट मृतक महिला टोखाबाट सुत्केरीपछी गाउँ
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाश प्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।
मृतकका एक जना आफन्तले बताएअनुसार त्यसयता टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।
टोखामै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । भोलिपल्ट छोरा जन्मियो र २५ गते उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएर उनी सिधै गाउँमा गएकी थिईन ।
मृतक महिलामा संक्रमणको स्रोत रहस्यमै
लकडाउनका कारण काठमाडौंमा बस्न समस्या हुने भएकाले परिवारले उनलाई गाउँ लगेको थियो । तर गाउँ गएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो । बाह्रविसेस्थित प्राथमिक उपचार केन्द्रमा लगियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौं लैजान सुझाएको थियो तर कपडा लिन भन्दै उनीहरु फेरि गाउँ फर्किए ।
तर पुनः धुलिखेलतिर आउने क्रममा उनको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । र, उनको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।
घटनापछि बाह्रबिसे नगरपालिका–९, राम्चे र माइती गाउँ बलेफी गाउँपालिका–७ र ९ लाई सिल गरिएको छ । उनी बसेको टोखा नगरपालिकाको क्षेत्रलाई पनि शिल गरिएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
अधिकारीका अनुसार वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्म बाटोमा सिल गरिएको छ । अब उनीसंग सम्पर्कमा गएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । उनी बसेको डेरा नजिकै आफन्तहरु पनि बसोवास गर्ने गरेको र आवजाउ भइरहने गरेको परिवारिक स्रोतले जनायो ।
स्रोतका अनुसार उनको बच्चाको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन भइसकेको छ । यद्यपि रिपोर्ट आइसकेको छैन । उनको जेठो छोरा ११ वर्षका छन् । अब उनको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिनेछ ।
अहिलेसम्म उनलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना देखिएको थियो ।
त्यसैले अस्पतालबाटै उनमा कोरोना संक्रमण भएको हुनसक्ने परिवारले आशंका गरेको छ । तर अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले भने प्रसुति गृह र संक्रमित बालिकाले उपचार गराएको भवन वेग्लावेग्लै भएको बताएका छन् ।
मृतक महिलाको पशुपति आर्यघाटमा अन्त्येष्टि
पहिलो कारोना संक्रमित उनको शनिबार राति नै पशुपति आर्यघाटमा अत्येष्टि गरिसकिएको छ । पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा उनको अत्येष्टि गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् ।
उनका अनुसार अत्येष्टिमा उनका श्रीमान, स्वास्थ्यकर्मी र सुरक्षा निकायका अधिकृतहरु उपस्थित थिए । नेपाली सेना र प्रहरीको स्कटिङमा उनको शवलाई काठमाडौसम्म ल्याइएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्