नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो
मंगलबार नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक–एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।
कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु छ ।
हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यकामा १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन् । मंगलबारसम्म मुलुकका ३८ जिल्लामा संक्रमण फैलिइसकेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्