सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाका कारण विदेशमा १२१ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार यो साता संयुक्त अरब इमिरेट्स, बेलायत, संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको निधन भएको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ । यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ ।

संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४२५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको एनआरएनए, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डस लगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने
विदेशमा संक्रमित भएकामध्ये करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताइएको छ । यो साता डेनमार्क र टर्कीका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

यसैबीच नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताएका छन् ।

यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिएका छन् ।

छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्