सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीयले हतियार खोसेपछी गोली चलाउँदा १ को मृत्यु

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताएका छन् । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताएका छन् । प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए ।

उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

बाराका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताएका छन् । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’

पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताएका छन् । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्