भारतीय सेना प्रमुखले सच्याए विवादित टिप्पणी
भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् । भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको भन्ने विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले आफ्नो यसअघिको भनाइलाई केही सच्याउँदै नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका हुन् ।
देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्ता धारणा राखेका हुन् ।
भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्–‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ ।’
यसअघि जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताएका थिए ।
नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको सरकारी थिंकट्यांक मनोहर पारेकर रक्षा अध्ययन तथा विश्लेषण संस्थान (एमपीआईडीएसए) ले गरेको वेबनारमा नरवणेले त्यस्तो भनाइ राखेका थिए । नरवणेको उक्त टिप्पणीप्रति नेपाल सरकार र जनस्तरबाट समेत कडा विरोध हुँदै आएको छ ।
यता भारतमा पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । भारतीय सेना प्रमुख नेपाली सेनाका समेत मानार्थ जनरलसमेत रहने परम्पराका कारण पनि दुई देशबीचको विवादित मुद्दामा नरवणेले अनावश्यक रुपमा टिप्पणी गरेको भन्दै आलोचना भएको थियो ।
भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।
यसबीच नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ । सार्वजनिक नयाँ नक्साअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि शनिबार संविधान संशोधन हुने कार्यक्रम छ ।
संविधान संशोधन सर्वसम्मतिले पारित हुने भएको छ । संविधान संशोधनप्रति विशेष चासो राखिरहेको भारतले नेपालले सार्वजनिक गरेको नक्सा आफूलाई अमान्य हुने बताउँदै आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्