सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम घटनामा ३२ जनाबिरुद्ध आजन्म कैदको मुद्दा

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ ।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ । कार्यालयले अभियुक्तहरूलाई आजन्म कैदको माग गरेको प्रवक्ता रेग्मीले बताएका छन् ।

Nabaraj BK Kanda

३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् । नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ । मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ ।

प्रहरी प्रतिवेदनका प्रतिवादीहरू
डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी
तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन् । नाबालकको हकमा आधा सजाय हुन्छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय विग्रिएको थियो । तैपनि लान सकिन्छ कि भनेर मृतक नवराज विक साथीहरु लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको र उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको एक अनुसन्धान अधिकारीले बताएका छन् । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको प्रहरीको भनाइ छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्