सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रियताका सवालमा विवाद नगर्न पुर्वराजाको अपिल

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारीका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । पुर्वराजा शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै पुर्वराजा ज्ञानेन्द्रले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।

सन्देशमा उनले थुप्रै प्रश्न उठाएका छन् । उनले भनेका छन्, हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारम्बार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुखद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?

Gyanendra Shah

भ्रष्टाचार, लापरवाही, पक्षपातजस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ?’ यो सोचनीय विषय भएको उनले बताएका छन् ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’ साथै, उनले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्