सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मर्नुअघि विजयलाई कुटपिट गरेको खुलासा

हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षीय विजय महराको उपचारका क्रममा मृत्यु भयो । हिरासतमा रहेको मिर्गौला रोगी भएको र उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको रौतहट प्रहरीले बताएको छ ।

उनको शरीरभरि कुटपिटको निलडाम भेटिएको छ । मृत्यु हुनुभन्दा अगाडि विजय स्वयंमले हिरासतमा रहँदा प्रहरीले निर्मम यातना दिएको बयान दिएको पाइएको छ । गाउँकै युवक निरञ्जन रामको हत्या आरोपमा उनी ३२ साउनमा पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका उनलाई अस्पताल पु¥याएको बेला प्रहरीले आफूलाई फलामको पाइप र बाँसको भाटाले निर्घात कुटपिट गरेको बताएको पाइएको छ । शुक्रबार सार्वजनिक भिडियामा भनिएको छ, ‘बाँसको भाटाले पिट्दा मैले केही भनिनँ । त्यसपछि लगातार दुई दिन पाइपले कुटपिट गरियो ।’

Thunuwa kaidi bhage

विजयका परिवारका सदस्य र स्थानीयले भने निरञ्जनको हत्यारा अर्कै भएको, तर विजयलाई नियन्त्रणमा लिई प्रहरीले फसाउन खोजेको दाबी गरेका छन् । त्यही कारण अभियोग स्वीकार गराउन प्रहरीले कुटपिट गर्दा ज्यान गएको उनीहरु बताउँछन् ।

प्रदेश प्रहरी प्रमुख भन्छन् ः दोषी देखिए कारबाही हुन्छ
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंह ३२ साउनमा पक्राउ परेका विजय १ भदौमै बिरामी पर्दा गौर अस्पतालमा भर्ना गरिएको बताए । अस्पतालमा जाँच गर्दा पिसाबमा इन्फेक्सन देखिएकाले वीरगञ्ज लगिएको उनले बताए ।

शरीरमा देखिएको निलडाम भने पक्राउ गर्न गएको बेला प्रहरीले सामान्य कुटपिट गर्दा भएको उनले बताए । हिरासतमा राख्नुअघि मेडिकल जाँच गर्दा नै त्यो देखिएको भन्दै उनले भने, ‘यो भिडियोमा भनिए झैं प्रहरी दोषी पाइए कारबाही हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्