सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारी तयारी

सरकारले विदेशबाट स्वदेश फर्किन चाहाने नेपालीको दैनिक कोटा संख्या बढाउने भएको छ । उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

पिसिआर परीक्षण नेगेटिभ भएका यात्रुहरुको मागको आधारमा उडान संख्या थप गर्दै जाने र यसरी आउँदा दिनमा ३ हजार जनासम्म आउन दिइने उनले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले) आयोजना गरेको वेबनारमा बोल्दै भट्टराईले अब नेपाल आउन चाहने नेपालीहरुलाई सजिलो हुने जानकारी दिएका हुन् ।

Nepal Airlines

मन्त्री भट्टराईले भने–‘पछिल्लो समय संक्रमण केही बढेपछि सरकारले केही कडाइ गरेको थियो । तर पनि विदेशमा लाखौ नेपालीहरु स्वदेश फर्किन चाहनुभएको छ । यसका लागि उडान संख्या कम भयो भन्ने कुरा आएपछि हामीले सल्लाह गरेर उडान संख्या थप गर्ने र यसबाट दिनमा २५ सयदेखि ३ हजार नेपाली दैनिक फर्किन पाउने हाम्रो अनुमान छ ।’

यसअघि सरकारले दैनिक आठ सयलाई मात्र ल्याउन दिने निर्णय गरेको थियो । त्यस्तै कम्पनीहरुले निशुल्क ल्याइदिन चाहनेलाई पनि उडान अनुमति दिइने भट्टराईले जानकारी दिएका छन् ।

यसअघि इतिहाद एयरवेजले दुबइबाट ११२० जना नेपालीलाई निशुल्क ल्याइदिने भन्दै उडान अनुमति माग गरेको थियो । तर सरकारले उसलाई उडान अनुमति अझैसम्म पनि दिएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्