सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बोतलकै ११ हजार पर्ने नेपाली मदिरा यार्चागुम्वा

मद्यपान (रक्सी) स्वास्थ्यका लागी हानिकारक छ । यो दुनियाँका सबै मानिसलाई थाहा छ । तर मदिराको नशामा रमाउनेको संख्या दिनानुदिन बढेको बढ्यै छ । विश्व बजारमा थरीथरीका मदिराहरु छन् । मदिरा बजारको दुनियाँमा पछिल्लो समय नेपालमा उत्पादीत ‘यार्चागुम्वा’ ब्राण्डले ग्राण्ड प्रवेश गरेको छ ।

नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’लाई मदिरा पारखीहरुले अत्याधिक रुचाएका छन् । लकडाउनका बेला गत चैतमा उत्पादन गरिएको सर्वाधिक महंगो यार्चागुम्बा ब्राण्डको मदिरा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

Yarchagumba

तर, यो अवधिमा १० हजार बोतल बिक्री भएको यार्चागुम्बाको उत्पादक कम्पनी एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिका कार्यकारी प्रवन्ध निर्देशक बिक्की गोयन्काले जानकारी दिएका छन् ।

गोयन्काले यार्चागुम्वाबारे भनेका छन्–‘उत्पादन शुरु गरेपनि लकडाउनका कारण बजारमा पठाउन सकिरहेका थिएनौं । बजारमा पठाउन थालेको केही महिनामात्रै भयो । अहिलेसम्म १० हजार बोतल बिक्री भइसकेको छ ।’

कूल बिक्रीमध्ये ८० प्रतिशतभन्दा बढी दशैं र त्यसयता भएको उनीहरुको भनाइ छ । कम्पनीले कूल ११ हजार बोतल ‘यार्चागुम्वा’ उत्पादन गरेको थियो । सञ्चालक गोयन्काले भनेका छन्–‘आजसम्म नेपालको कुनै पनि त्यस्तो ब्राण्ड छैन, जो विश्वले चिनोस् । हामी यो ब्राण्डलाई विश्वभर फैलाउँदैछौं ।’

यो मदिराको ७५० एमएलको बोतलको नेपालमा ११ हजार रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारका लागि भने २३९ अमेरिकी डलर मूल्य तोकिएको छ । नेपालमा बिक्री वितरण गरिने यार्चागुम्बामा अल्कोहलको मात्रा ४० प्रतिशत रहेको छ भने विदेशमा बिक्री वितरणका लागि उत्पादन गरिएको यार्चागुम्बामा अल्कोहलको मात्रा २८ प्रतिशतमात्रै रहेको छ ।

Yarchagumba

बजारमा पठाए पनि मार्केटिङ र ब्राण्डिङ भने गरिएको छैन । गायन्काले भनेका छन्–‘केही महिनाभित्रमा औपचारिकरुपमा सार्वनिक गर्छौं । अहिले जे जति बिक्री भएको छ त्यो ‘माउथ मार्केटिङ’ले हो । बजारले गरेको रेस्पोन्सले आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् ।

नेपाललाई विश्वभर चिनाउने उद्देश्यले यार्चागुम्बाको उत्पादन शुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक गोविन्द्र अग्रवालले जानकारी दिएका छन् । अग्रवालका अनुसार ‘यार्चागुम्बा’ ब्राण्डको ९० प्रतिशत बजारको लक्ष्य विश्वभर नै हो ।

यार्चागुम्बा ब्राण्डको मदिरा विश्वका अधिकांश देशका विमानस्थलहरुका ‘ड्युटी फ्रि सप’हरुमा पुग्नेछ । त्यसका लागि हङ्कङमा यार्चागुम्बा नामक ट्रेडमार्क दर्ता भइसकेको छ । वितरण भने नेपालबाटै गरिने छ ।

कम्पनीले सरकारबाट वर्षमा कूल १२ लाख बोतल मदिरा उत्पादन गर्ने अनुमति पाइसकेको छ । नेपालमा ११ हजार रुपैयाँ बोतलमा बिक्री गर्दा आफूहरुलाई कुनैपनि फाइदा नभएको उनीहरुको भनाइ छ ।

यार्चागुम्बामा के के छन् त खास विशेषता ?
गोयन्का र अग्रवालले यार्चागुम्बाबारे जानकारी दिँदै संयुक्त रुपमा भनेका छन्–‘यो न ह्वीस्की हो, न भोड्का, जिन वा रम हो, न त बियर नै । यो त यार्चागुम्बा र अन्य ९ प्रकारका दुर्लभ जडीबुटीहरुको सम्मिश्रणबाट बनाइएको औषधीय गुणसहितको अल्कोहलिक वेभरेज हो ।’

‘यार्चागुम्बा इज यार्चागुम्बा, दिस इज दि युनिक लिक्वायर अन दि वल्र्ड,’ उनीहरुले थपे, ‘यसमा कलर, फ्लेवर र कुनैपनि प्रकारको केमिकल मिसाइएको छैन । यो अग्र्यानिक छ । र, यसको उत्पादन प्रक्रियामा मेशिनको प्रयोग पनि भएको छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्