सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

टिकापुरमा रुखमा बाँधेर टाउको काटी विभत्स हत्या

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र बडुवालको एक समूहबाट भएको हत्या घटनामा संलग्न केही अभियुक्त फरार रहेकै अवस्थामा हत्याको अर्को घटना भएपछि पूर्वी क्षेत्रका बासिन्दामा त्रास बढेको हो ।

दास सपरिवार भारतको दिल्लीमा बस्दै आएका थिए । सासू बिरामी परेको खबर पाएपछि उनी एक महिनाअघि मात्र घर आएको काका पदम दासले बताएका छन् । काका पदम दासले भनेका छन्–‘भतिजोको हत्याको खबर पाएपछि हामी घर आएका हौं ।’

दासको शव शनिबार रूखमा बाँधेर टाउको काटिएको अवस्थामा भेटिएको थियो । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनपालेलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको थियो । शुक्रबार करिब ५ बजेतिर घरबाट निस्केका दास राति नफर्केको आफन्तले बताएका छन् ।

Tikapur kanda Arjun Das

घटनास्थलमा चाउचाउको प्याकेटका केही खोल र खरानी देखिएको छ । सामुदायिक वनभित्र उनको शव भएको ठाउँमा शनिबार दिनभर हेर्नेको भीड थियो । चाँडो अपराधीको खोजी गरी कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरिरहेका छन् ।

घटनास्थलमा खटिएका डीएसपी रविन विष्टले अनुसन्धान जारी रहेको र संलग्नको पहिचान भइसकेकाले पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् । ‘हामी अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘संलग्नको पहिचान भइसकेको छ । उनीहरू उम्किन पाउँदैनन् ।’

मृतकका आमाबुबा भारतबाट आइनसकेका कारण आइतबार ढिलोसम्म उनको शव घटनास्थलमै थियो । घटनामा संलग्न पक्राउ नपरेसम्म शव उठाउन नदिने चेतावनी स्थानीयले दिएका छन् ।

कैलालीका एसपी विश्व अधिकारीले आइतबार साँझ टीकापुर क्षेत्रबाट शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घरटनाको अनुसन्धान भइरहेको बताएका छन् । अर्जुन दासको हत्या गरेर आफू भारत गइरहेको एक युवकले बोलेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

उक्त अडियोका आधारमा पनि अनुसन्धान भइरहेको एसपी अधिकारीले बताएका छन् । एसपी अधिकारीले भनेका छन्–‘अडियो घटनामा संलग्न भएकाकै साथीहरूबाट बाहिरिएको हुन सक्छ ।’

गत कात्तिकमा लम्कीका युवक भूपेन्द्र बडुवालको स्थानीय आपराधिक गिरोहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । उक्त घटनामा संलग्न आरोपमा २१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये १२ जना पक्राउ परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS