सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भेटिए माईतीले वेपत्ता पारेको भनिएका चन्द्रे

अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिका–५ याङ्चुबजारमा उनलाई भेटेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । सूचना अधिकारी भण्डारीले भने, ‘आज बिहान ८ बजेतिर हामीले उहाँलाई खार्पुनाथको याङ्चुमा एक्लै हिँडिरहेको अवस्थामा भेटेका हौँ ।’

बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा गएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिमकोट ल्याइँदै छ । घटनाको थप अनुसन्धानका लागि सोधपुछ गरेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Chandre Kami

मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता थिए । परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए । त्यसयता उनको अवस्था अज्ञात थियो ।

केटी पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको भनाइ छ । चन्द्रे र सुन्तलीले घरबाट भागेर विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारले दाबी गरेको छ ।

हुम्लाका १८ वर्षीय चन्द्रे र मुगुकी १७ वर्षीया रमिलाले मंसिर ५ मा प्रेम विवाह गरेका थिए । उनीहरूको विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए । उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गएका थिए ।

हुम्लाको जैर गाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दै गर्दा चन्द्रेको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको गाउँलेको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्