राजबन्दी रिहाइ गर्न विश्वभरबाट भुटानलाई अपिल
भुटानमा ३ दशकयता थुनामा रहेका राजबन्दीको रिहाइका लागि विदेशमा रहेका भुटानी मूलका मानवअधिकार अभियन्ताहरूले सार्वजनिक अपील गरेका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, डेनमार्क, अष्ट्रेलियासहितका भुटानी शरणार्थी पुर्नवासमा रहेका मुलुकका सरकार वा सम्बद्ध कुटनीतिक नियोगमा पत्राचार गर्दै राजनीतिक बन्दी रिहाइको अपील गरिएको हो ।
भुटानी राजनीतिक बन्दी रिहाइका लागि विश्वव्यापी अभियानका संयोजक राम कार्कीले नेदरल्याण्डको हेगबाट दिएको जानकारी अनुसार मानवअधिकार अभियन्ताले गरेको अपीलपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले भुटानमा राजनीतिक बन्दी थुनामा रहेको गम्भीर सरोकारमा ध्यान पु¥याउन आफूले परराष्ट्रमन्त्री नानैया महुतालाई निर्देशन दिएको बताएकी छन् ।

न्यूजिल्याण्डस्थित मानवअधिकार अभियन्ता सुदर्शन अधिकारीले त्यहाँका सरकारी अधिकारीसहित एम्नेष्टी इन्टरनेशनलाई पनि अपील पठाएका थिए । यस्तै, अष्टेलियामा रहेका भुटानी मानवअधिकार अभियन्ता इन्द्र अधिकारी, बेलायतमा प्रेम गिरी र डेनमार्कमा पूर्ण दाहाललेसमेत त्यहाँको सरकारलाई भुटानी नागरिकको खोसिएको मानवअधिकार र स्वतन्त्रताका पक्षमा आवाज उठाउन अपील गरेका थिए ।
नेदरल्याण्डमा अभियन्ता राम कार्कीले परराष्ट्र मन्त्रालयका अधिकारी तथा परराष्ट्र मामिलासम्बन्धी संसदीय समितिका सदस्यलाई भुटानी जेलमा थुनामा रहेका राजबन्दी रिहाइको अपील गरेका छन् ।
क्यानडा निवासी प्रकाश गौतम (भुटानी राजबन्दी कुमार गौतमका भाइ)ले क्यानडा सरकारलाई अपील पठाएका छन् भने अमेरिकामा सीएम निरौला र नवीन नेपालले अमेरिकी विदेश मन्त्रालय तथा सम्बद्ध सिनेटरलाई अपील पठाएका छन् । सिनेटर मार्शल ब्ल्याकबोनले भुटानका राजालाई राजनीतिक बन्दी रिहा गर्न अनुरोध पत्र पठाइसकेको जानकारी दिएका थिए ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्